कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आज प्रदेश सभाबाट विश्वासको मत लिने भएका छन्।
नागरिक उन्मुक्ति पार्टी सरकारबाट बाहिरिएपछि मुख्यमन्त्री शाहले विश्वासको मत लिन लागेका हुन्।
मुख्यमन्त्री शाहले विश्वासको मत लिने प्रयोजनका लागि आज बेलुकी ५ बजे प्रदेश सभा बैठक बोलाइएको छ । नेपाली कांग्रेस र नेकपा एमालेले प्रदेश सभा सदस्यहरूलाई पक्षमा मत हाल्न ह्विप जारी गरेका छन् ।
५२ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा विश्वासको मत प्राप्त गर्नका लागि कम्तीमा २७ सांसदको समर्थन आवश्यक पर्छ। हाल कांग्रेससँग १८ र एमालेसँग ११ गरी २९ सांसद छन्, जुन विश्वासको मतका लागि आवश्यक सङ्ख्याभन्दा २ बढी हो।
यस्तै, प्रदेशसभामा माओवादी केन्द्रका १०, नागरिक उन्मुक्तिका ७, एकीकृत समाजवादीका ३, राप्रपाका १ र एक जना स्वतन्त्र सांसद छन्।