पूर्वअध्यक्ष रञ्जिताको गम्भीर आपत्ति
काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) आज नयाँ बानेश्वरमा राष्ट्रिय भेला गर्दैछ। भेला पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठलाई पदबाट हटाइएपछि नयाँ नेतृत्व चयन गर्न आयोजित गरिएको हो।
पार्टीले बुधबार सम्पन्न बैठकमार्फत श्रेष्ठलाई न केवल अध्यक्ष पदबाट हटाउने, तर साधारण सदस्यबाट समेत निष्कासन गर्ने निर्णय गरिसकेको छ।
श्रेष्ठ पोखराको लिचीबारी जग्गा प्रकरणमा मुछिएपछि पार्टीको अनुशासन समितिले २४ घण्टे स्पष्टीकरण मागेको थियो। तर, उनले कुनै प्रतिक्रिया नदिई वरिष्ठ उपाध्यक्ष शिव बास्तोलालाई कार्यवाहक अध्यक्ष तोकेकी थिइन्।
सोही क्रममा पार्टी बैठकमा अनुपस्थित रहेको भन्दै बुधबारको अनुशासन समितिको निर्णयले उनलाई पूर्ण रूपमा पार्टीबाट हटाउने निर्णय गरेको हो।
आजको राष्ट्रिय भेलाले नयाँ अध्यक्ष चयन गर्ने प्रक्रिया अघि बढाउने नाउपाले जनाएको छ।
अध्यक्ष पदमा अहिले तीन नामको चर्चा चलेको छ। जसमा पूर्वअध्यक्ष रेशम चौधरीका पिता लालवीर चौधरी, यस्तै रामलाल डगौरा उनी निर्वाचन तथा अनुशासन आयोगका अध्यक्ष तथा टीकापुर नगरपालिकाका मेयर हुन् । हाल उनको अध्यक्षतामै राष्ट्रिय भेला सञ्चालन भइरहेको छ।
यस्तै नाउपाको संसदीय दलकी नेतृ तथा टिकापुरको महाधिवेशनबाट महासचिव निर्वाचित गङ्गा चौधरीको पनि अध्यक्षमा चर्चा छ ।
पार्टीको नेतृत्व परिवर्तनसँगै आन्तरिक विवाद अझ चर्किन सक्ने अनुमान गरिएको छ।
पूर्वअध्यक्ष र पार्टीका प्रमुख संरक्षक रेशम चौधरी निर्वाचन आयोगको परामर्शमा रहेर नयाँ कार्यसमिति गठनको रणनीति तय गरिरहेका छन्। अध्यक्ष पदका आकांक्षीबीच सहमति जुटाउने प्रयास भइरहेको बताइएको छ।
यस भेला र नेतृत्व चयनको प्रक्रियाले नाउपाको आगामी राजनीतिक दिशा निर्धारण गर्ने विश्वास गरिएको छ। विशेषतः रञ्जिता श्रेष्ठको निष्कासनपछि उत्पन्न आन्तरिक विवाद समाधान गर्दै पार्टीलाई संस्थागत रूप दिने प्रयासका रूपमा यो भेला हेरिएको छ।
यता पूर्वअध्यक्ष श्रेष्ठले आफूलाई अध्यक्ष पदबाट हटाइएको र पार्टी सदस्यतासमेत खारेज गरिएको पछिल्लो घटनाक्रमप्रति गम्भीर आपत्ति जनाएकी छन्।
उनले अहिले काठमाडौंमा जारी राष्ट्रिय भेला र त्यसभित्र भइरहेको नेतृत्व चयन प्रक्रिया नै अवैधानिक भएको दाबी गरेकी छन्।