आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

माओवादी केन्द्र र एकीकृत समादवादीबीच सहकार्यलाई व्यवस्थित गर्दै लैजाने सहमति

मंगलबार, साउन १३ २०८२

काठमाडौं । नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)का शीर्ष नेताहरूबीच छलफल भएको छ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच सोमबार भेटवार्ता भएको छ ।

सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा भएको भेटवार्तामा समाजवादी मोर्चाको गतिविधि, विभिन्न विधेयक लगायतका विषयमा छलफल भएको नेताहरूले जनाएका छन् ।

छलफलपछि नेकपा एकीकृत समाजवादीका नेता प्रकाश ज्वालाले समाजवादी मोर्चाको बैठक मंगलबार बस्ने र त्यसलाई उपलब्धिमूलक बनाउने विषयमा छलफल भएको जानकारी दिए ।

उनले भने, ‘मंगलबार समाजवादी मोर्चाको बैठक छ । मोर्चाको बैठकलाई कसरी उपब्लब्धीमुलक बनाउने रु सफल बनाउने भन्ने मुख्य विषयमा आज हामीले छलफल गर्यौं । त्यसपछि अहिले संसदमा विभिन्न विचाराधिन विधेयकहरु छन् । शिक्षासम्बन्धी विधेयक अड्काएर राखिएको छ । संघीय निजामति विधेयकमा षड्यन्त्र भएको छ । राष्ट्रिय सभाबाट पनि विधेयकलाई उल्ट्याउने प्रयास गरिएको छ । संसदमा खेल्नुपर्ने भूमिकाको विषय पनि छ । यी विषयमा दुवै पार्टीका माननीय सदस्यहरुले संसदको दुवै सदनमा सशक्त तरिकाले भूमिका कसरी खेल्ने भन्ने विषयमा छलफल भयो । त्यसमध्येपनि सरकारका गलत प्रवृत्तिहरुविरुद्ध संसदमा कसरी प्रश्तुत हुने भन्ने विषयमा आज छलफल भयो ।’

त्यस्तै, शिक्षासम्बन्धी विधेयक, निजामती विधेयकलाई रोक्ने प्रयास भएकाले यसलाई अघि बढाउन दुई पार्टीले सदनमा प्रभावकारी भूमिका निर्वाह गर्ने विषयमा पनि छलफल भएको उनले बताए ।

दुई पार्टीका कार्यकर्ताबीचको सहकार्यलाई समृद्ध र व्यवस्थित गर्दै लैजाने सहमति भएको जानकारी दिए ।