काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले पार्टीको मुद्दा, नीति र सिद्धान्त बोकेर जनताको घरदैलोमा पुग्न पार्टी पंक्तिलाई निर्देशन दिएका छन् ।
पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा आज केन्द्रीय विभाग र जनवर्गीय सङ्गठनका प्रमुखको संयुक्त बैठकमा अध्यक्ष यादवले केन्द्रीय विभाग र जनवर्गीय सङ्गठनका प्रमुखलाई पार्टीको एजेण्डा र मुद्दा बोकेर आमजनताको घरघरमा पुगेर प्रष्ट पार्न निर्देशन दिएका हुन् ।
अध्यक्ष यादवले विद्यमान राजनीतिक परिस्थितिमा परिवर्तनको दिशामा अडिग भएर अघि बढ्नु पर्ने खाँचो औंल्याए । उनले भने, “जसपा नेपालले बलियो ढङ्गले उठाउँदै आएको मुद्दा प्रष्ट रूपले अझै जनताबीच पुग्न सकेको छैन । ती मुद्दाहरु जनतामा पुर्याउने र उनीहरुलाई बुझाउने काम तपाईँहरुको हो ।”
अध्यक्ष यादवले सम्पूर्ण शक्ति लगाएर आगामी निर्वाचनको तयारीमा होमिन नेता तथा कार्यकर्तालाई आग्रह गरे । बैठकमा प्रशिक्षण, नेतृत्व विकासका पहल, जनसम्पर्क विस्तार, जनवर्गीय सङ्गठनको भूमिका प्रभावकारी बनाउने बारे छलफल भएको जसपाले विज्ञप्तिमार्फत जनाएको छ ।