आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

पूर्वराष्ट्रपति सक्रिय राजनीतिमा फर्कन खोज्नु आफैंमा विवादास्पद

आइतबार, साउन ११ २०८२

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सक्रिय राजनीतिमा पुनरागमन एमालेका लागि अस्वीकार्य भएको बताएका छन् ।

शनिबार नेपाल प्रेस सोसाइटीले भक्तपुरमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा उनले भण्डारीको एमाले पार्टी सदस्यता र राजनीतिक पुनः सक्रियता एमालेका लागि ‘गौण विषय’ भएको बताएका हुन् ।

एमालेको केन्द्रीय कमिटी बैठकले ७० वर्षे उमेर सीमा, कार्यकारी पदमा दुई कार्यकालको सीमा र पूर्वराष्ट्रपतिको सक्रियता निषेध सम्बन्धमा विधिवत र घनीभूत छलफलपछि निर्णय गरेको उनले बताए ।

केन्द्रीय कमिटी बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले कसैलाई बोल्न नदिएको भन्ने आरोप निराधार रहेको बताउँदै प्रचार विभाग प्रमुख गौतमले बैठक सर्वसहमतिको वातावरणमा निर्णय गरी सम्पन्न भएको बताए ।

एमालेले मलाई पार्टी सदस्यताबाट बञ्चित गर्न कदापि पनि मिल्दैन : भण्डारी

यता पूर्वराष्ट्रपति भण्डारीले नेकपा एमालेले आफूलाई कुनै कारण पनि पार्टी सदस्यबाट बञ्चित गर्न नसक्ने जिकिर गरेकी छिन् ।

शुक्रबार राजधानीस्थित कार्की ब्याङ्केटमा विशेष पत्रकार सम्मेलन गर्दै भण्डारीले यस्तो जिकिर गरेकी हुन् ।

‘मेरो पार्टी सदस्यता नवीकरण भइसकेकाले यसलाई विवादमा पार्नुपर्न विषय नै होइन,’ उनले भनिन्। पूर्वराष्ट्रपति भण्डारीले आफू पार्टी सदस्यता बनेको ४५ वर्ष बितिसकेको बताइन् ।

‘त्यसैले पार्टीप्रतिको आशा र सिद्धान्त र राष्ट्रप्रति कटिबद्ध हुँदाहुँदै मलाई पार्टी सदस्यताबाट बञ्चित गर्न कदापि पनि मिल्दैन,’ उनको भनाइ छ ।

भण्डारीको सक्रिय राजनीतिमा पुनरागमनको चर्चा चुलिंदै जाँदा त्यसप्रति विभिन्न क्षेत्रबाट अस्वीकारको स्वर उठ्न थालेको छ।

नेपालको संविधान अनुसार राष्ट्रपतिको पद निर्वाह गरिसकेपछि राजनीतिक गतिविधिमा संलग्न हुनु उपयुक्त नहुने मानिन्छ।

पूर्वराष्ट्रपतिलाई राजनीतिक रूपमा निष्पक्ष, मर्यादित र सर्वमान्य व्यक्तित्वको रूपमा रहने अपेक्षा गरिन्छ। तर पछिल्ला समय उनका केही गतिविधिहरू, विशेषगरी एमाले नेताहरूको कार्यक्रममा सक्रिय उपस्थितिले पूर्वपदको गरिमा क्षतिग्रस्त हुने टिप्पणीहरु भइरहेका छन्।

राजनीतिक विश्लेषकहरू भन्छन्, “राष्ट्रपति पदबाट सेवा निवृत्त भएपछि पूर्वराष्ट्रपतिले तटस्थ भूमिका निर्वाह गर्नु संवैधानिक मर्यादाअनुकूल हुन्छ। सक्रिय राजनीतिमा फर्कन खोज्नु आफैंमा विवादास्पद विषय हो।”

यता, सत्तारूढ दलसमेत भण्डारीको पुनः राजनीतिक सक्रियतालाई अस्वीकार्य मानिरहेको छ। सत्तापक्षका नेताहरूले ‘पूर्वराष्ट्रपतिले राष्ट्रको एकताको प्रतीकका रूपमा मर्यादा पालन गर्नुपर्छ’ भन्ने धारणा राखेका छन्।

संविधानविद्हरू पनि यसबारे स्पष्ट छन्। उनीहरू भन्छन्, “पूर्वराष्ट्रपतिको सक्रिय राजनीति संवैधानिक अभ्यासको विरुद्ध हो। यसले राज्यको संस्थागत विश्वसनीयता समेत खल्बलाउन सक्छ।”

यसैबीच, एमाले भने भण्डारीलाई पार्टीमा स्वागत गर्ने तयारीमा देखिएको छ। यद्यपि औपचारिक निर्णय भइसकेको छैन।

नेपालको लोकतान्त्रिक अभ्यासलाई मर्यादित र दिगो बनाउने हो भने पूर्वराष्ट्रपतिजस्तो उच्चपदबाट सेवा गरिसकेका व्यक्तिहरूले संविधानको भावना र सार्वजनिक अपेक्षालाई सम्मान गर्दै तटस्थ भूमिकामा रहनु उपयुक्त ठहरिन्छ ।