मदन भण्डारीको ७४ औं जन्मजयन्तीको अवसरमा मदन भण्डारी फाउन्डेसनद्धारा असार १४ गते ‘जनताको बहुदलीय जनवादका तीन दशक’ विषयक राष्ट्रिय गोष्ठी आयोजना भयो। राष्ट्रिय सभामा भएको कार्यक्रमका प्रमुख अतिथि फाउन्डेसनका संरक्षक एवं प्रधानमन्त्री केपी शर्मा ओली थिए । पुर्व राष्ट्रपति विद्या भण्डारीको विशिष्ट अतिथिको रूपमा उपस्थित थियो । भण्डारीको राजनितिमा आउने चर्चाबिच भएको उक्त कार्यक्रमलाई विशेष नेकपा एमाले तथा देशले नै महत्वको रुपमा हेरेको थियो । सबैको अनुमान, अड्कल र लख अनुसार नै पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पुनः एमालेको सक्रिय राजनीतिमा आएको घोषणा गरीन् । उनले पतिको जन्मदिनको अवसरलाई साक्षी राखेर राजनीतिमा आउने घोषणा गरिन् । उक्त घोषणाले नेपाली राजनीति र विशेष एमालेमा तरङ्ग ल्याएको छ ।
नेकपा एमालेभित्र उनको घोषणापछि विरोधको स्वर उचाल्नेहरूको पंक्ति सबल रूपमा अगाडि आएको छ भने अर्कातर्फ उनलाई खुलेर स्वागत र समर्थन जनाउने नेताहरूको जमात पनि उत्तिकै ठूलो देखिन्छ । केपी शर्मा ओलीसँग लामो समयसम्म सहयात्रा गरेकी भण्डारीको आगमन भने फरकबाटो उन्मुख छ । एक समय मिलेर हिँडेका यी दुई प्रमुख पात्र अहिले राजनीतिक र वैचारिक हिसाबले फराकिलो दूरीमा पुगेका छन् । कतिपय विश्लेषकहरूले ओलीले जानाजान भण्डारीलाई स्वतन्त्र मार्ग दिँदै पार्टीभित्रका असन्तुष्टहरूको पहिचान गर्न र तिनलाई व्यवस्थापन गर्न सघाएको भन्ने अनुमानसमेत लगाएका छन् । पार्टीभित्र दुई कार्यकाल र ७० वर्षे उमेरहदको प्रावधान लागू गर्नुपर्ने विषयमा बहस चर्किरहेका बेला ओलीले वैकल्पिक नेतृत्वका रूपमा भण्डारीलाई अगाडि ल्याएको हो भन्ने अड्कल पनि गरिन्छ ।
जसरी भए पनि अहिले यी दुईबीचको मतमतान्तर सार्वजनिक रूपमा देखिएको छ । भण्डारीले आफ्ना दिवंगत पति मदन भण्डारीको जन्मजयन्तीको अवसर पारेर आयोजित समारोहमा आफू सक्रिय राजनीतिमा पुनः फर्किएको घोषणा गरिन् । उनको घोषणाले एमालेभित्र गुटगत प्रतिस्पर्धा चर्काउनेछ, असन्तुष्टहरूलाई केन्द्रित गर्नेछ, केही पुराना अनुहारहरूलाई पुनः सक्रिय बनाउनेछ । मुख्यत एमालेमा अध्यक्ष केपी शर्मा ओलीको एकल नेतृत्वको समानान्तर शक्ति क्षतविक्षत हुने संकेत देखिएको छ।
एमालेका अध्यक्ष केपी शर्मा ओलि विगतमा माधव कुमार नेपाल, वामदेव जस्ता हस्तीहरुलाई लखेटेर एकल रुपमा पाटि चलाए, अहिले सम्म पनि चलाउँदैछन् । उनले गरेका हरेक निर्णयको विरुद्धमा कोहि जाने आँठ गर्दैन थिए । ओलि भनेको एमाले, एमाले भनेको ओलि भाष्य विकशित भइसकेको थियो । आम कार्यकर्तामा समेत ओलिले गरेका निर्णय लागु गर्नु पर्ने बाध्यता थियो ।
ओलिको कार्यशैलीले एमालेको पहुसङ्खय पदाधिकारी विद्यातिर खुल्ने सम्भावना रहेको छ । बर्षौ सम्म ओलिको हेपाहा प्रवृति सहेर वस्नेहरु विद्यातिर खुल्नु स्वभाविक नै हो । ओलिकै कुनै समयका विश्वास पात्र गोकुल वास्कोटा समेत विद्या तिरै खुल्ने निश्चित भइसकेको छ । अर्को तर्फ युवा संघ र अखिलमा अध्यक्षमा आएको मतपरिणामले समेत ओलिको समानान्तर शक्ति क्षतविक्षत हुने संकेत देखिएको छ।
ओलिको समानान्तर शक्ति क्षतविक्षत भइरहदा विद्याको पुनरागमनले एमालेमा हर्श पनि छाएको छ । ओलीको नेतृत्वमा असन्तुष्ट रहेकाहरू र वैकल्पिक आश्रय खोजिरहेका नेताहरूका लागि भण्डारीको कमब्याक उत्साहको विषय अवश्य बनेको छ ।
मदन भण्डारीको पारिवारिक लिगेसी बोकेकी भण्डारी दुई पटक एमाले उपाध्यक्ष र सोही पटक राष्ट्रपति बनिसकेकी छन्। अब उनले सक्रिय राजनीतिमा पाइला चालेकी छन् र ताल परे बिद्या एमालेको पहिलो महिला अध्यक्ष, नेपालको पहिलो महिला प्रधानमन्त्री र वाम एकताको सशक्त केन्द्रको रूपमा रहनेछिन्। यी सम्भावनाहरू तत्काल सहज देखिँदैनन् ।एमालेभित्रको शक्ति सन्तुलन, ओलीको प्रभाव र दलगत राजनीतिभित्रको रणनीतिमा निर्भर रहने यी विकल्पहरू कठिन भए पनि असम्भव भने छैनन् । भण्डारीको अनुभव, पूर्वप्रतिष्ठा र कार्यकर्तास्तरको समर्थनले यिनमा नयाँ मोड ल्याउन सक्छ ।