तेहरान । इजरायलले गरेको आक्रमणमा इरानको रिभल्युसनरी गार्ड कोरका प्रमुखसहित केही वरिष्ठ सैन्य कमाण्डर मारिएका छन्।
शुक्रबार सबेरै इजरायलले इरानको राजधानी तेहरानसहितका कयौं शहरलाई लक्षित गरी हवाई आक्रमण गरेको थियाे।
इजरायलले सैन्य कारबाहीलाई ‘अपरेशन राइजिङ लायन’ को नाम दिएको छ। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आक्रमणलाई ‘निर्णायक क्षण को संज्ञा दिएका छन् ।
इजरायलले तेहरानमा अवस्थित रिभोल्युसनरी गार्ड कोरको मुख्यालयलाई लक्षित गरी हवाई आक्रमण गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
आक्रमणमा इरानको रिभोल्युसनरी गार्ड कोरका प्रमुख हुसेन सालामीको मृत्यु भएको इरानको तस्निम समाचार संस्थाले उल्लेख गरेको छ। उनीसँगै अरु केही वरिष्ठ सैन्य कमाण्डर पनि मारिएको जनाइएको छ।
अहिलेसम्मको जानकारी अनुसार इजरायली सेनाले इरानका विभिन्न ६ स्थानमा हवाई आक्रमण गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले रिपोर्ट गरेका छन् ।