शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

यू-१९ विश्वकप छनोट : अन्तिम खेल नेपाल-अफगानिस्तानसँग खेल्दै

शनिबार, बैशाख ६ २०८२

काठमाडौं । आईसीसी यू–१९ विश्वकप क्रिकेटको एसिया छनोटअन्तर्गत आफ्नो अन्तिम खेलमा नेपालले आज अफगानिस्तानसँग खेल्दैछ । खेल मुलपानी क्रिकेट मैदानमा आज बिहान ९ बजेबाट सुरु हुँदैछ । आजको यो खेल विश्वकप छनोटका लागि निर्णायक हुनेछ ।

यो एक खेल जिते नेपालले २०२६ मा आईसीसी विश्वकप क्रिकेट खेल्नेछ।

नेपाल र अफगानिस्तानले तीन खेलबाट समान ६ अंक बनाएका छन्। यी दुई टोलीको भिडन्तको विजेताले अर्को वर्ष जिम्बावे र नामिबियाले आयोजना गर्ने विश्वकपमा स्थान बनाउने छन्। मूलपानीको तल्लो क्रिकेट मैदानमा भइरहेको छनोट प्रतियोगिताको शीर्ष दुई स्थानमा नेपाल र अफगानिस्तान पुगेका हुन्। प्रतियोगितामा सहभागी हङकङ, ओमान र युएई अंकविहीन छन् ।

लगातार तीन खेलमा विजयी भएका दुवै देश उच्च मनोबलका साथ निर्णायक भिडन्तका लागि शनिबार मैदानमा हुनेछन्। यसअघि नेपालले ओमानलाई आठ विकेटले, यूएईलाई डिएल पद्धतिमा पाँच रनले हराउँदा हङकङमाथि नौ विकेटको सानदार जित निकालेको थियो।त्यसैगरी निर्णायक भिडन्तमा आइपुगेको अफगानिस्तानले पहिलो खेलमा ओमान र दोस्रो खेलमा हङकङलाई समान आठआठ विकेटले हराउँदा तेस्रो खेलमा यूएईविरुद्ध डिएलपद्धतिमा १८० रनको जित निकालेको छ।

नेट रनरेटका आधारमा अफगानिस्तानले नेपाललाई पछि पारेको छ । शनिबार हुने महत्वपूर्ण खेल वर्षाले प्रभावित भएमा नेपाललाई घाटा हुनेछ। खेल शनिबार बिहान ९ बजे सुरु हुनेछ । छनोटअघि नेपाल र अफगानिस्तानले तीन खेलको शृंखलामा प्रतिस्पर्धा गरेका थिए। उक्त प्रतिस्पर्धामा अफगानिस्तान २-१ ले विजयी भएको थियो।

नेपालले सन् २००० देखि २००८ सम्म लगातार पाँच पटक, त्यसपछि सन् २०१२ र २०१६ मा यू-१९ विश्वकपमा स्थान बनाएको थियो। नेपाली युवा टोली अहिले नवौँ पटक विश्वकप खेल्ने तयारीमा छ।