काठमाडौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सिइओ) चुडामणि चापागाईँले नियुक्ति-पत्र लिएका छन् ।
राजस्व सचिव दिनेशकुमार घिमिरेबाट उनले आज नियुक्ति बुझेका हुन् । बुधबार अर्थ मन्त्रालयमा पद तथा शपथको कार्यक्रम राखिएको छ।
मन्त्रिपरिषदको सोमबारको बैठकले चापागाईंलाई नियुक्त गरेको हो।
झापाका चापागाईंले यसअघि सानिमा रिलायन्स इन्स्योरेन्सको नायव महाप्रबन्धक भएर काम गरीसकेका छन् ।
सरकारले नेप्सेका प्रमुख कार्यकारी अधिकृतको पदमा खुला प्रतिस्पर्धाद्वारा पदपूर्ति गर्न तीन सदस्यीय समिति गठन गरेको थियो।
उक्त पदको संक्षिप्त सूचीमा छानिएका ५ जनालाई गत चैत ६ गते अन्तर्वार्ता र प्रस्तुतिका लागि बोलाइएको थियो।
सिइओका लागि आवेदन दिएका १० जनामध्ये संक्षिप्त सूचीमा पाँच जना परेका हुन्।
संक्षिप्त सूचीमा झापाका चापागाईं सहित सर्लाहीका नारद कुमार लुइँटेल, इलामका पूर्णबहादुर आचार्य, नुवाकोटका बद्रिप्रसाद प्याकुरेल र पाल्पाका हेमन्त बस्याल परेका थिए।