काठमाडौं । सत्तारुढ नेपाली कांग्रेस र नेकपा एमालेले किनारा लगाएका तथा राजावादी शक्तिको प्रहारको कसीमा उभिएका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तिलमिलाउन थालेका छन्।
अनेकथरी गरेर राजनीतिको केन्द्रमा रहने, सत्ता राजनीतिमा चलायमान हुन खोज्ने उनी अहिले प्रतिपक्षको कित्तामा उभिएका छन्। यद्यपि व्यवस्थाबिरोधी शक्तिको उदय र चहलपहलका कारण प्रचण्डमा आत्याश पनि बढेको बताइएको छ।
ज्ञानेन्द्र शाह पोखराबाट काठमाडौं आउँदा र्यालीमा देखिएको शक्तिबाट अत्तालिएका प्रचण्डले समाजवादी मोर्चाको कार्यक्रम राखेका छन्। १५ चैतमा काठमाडौंमा उनको पहलमा शक्ति प्रदर्शनको तयारी भएको हो।
समाजवादी मोर्चाको पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले दरबार हत्याकाण्डलगत्तै भूमिगत हुँदा र गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री हुँदा पनि आफूले त्यसबारेमा बोल्दै आएको बताएका हुन्।
‘त्यतिबेला पनि यही कुरा पनि यही कुरा बोलिएको थियो। पहिलोचोटी गणतन्त्र नेपालको प्रधानमन्त्री भएपछि छानबिन आयोग बनाउन जरूरी छ भनेर त्यतिबेलै भनेको थिएँ। तिनै कुरालाई अहिले जसरी फेरि पुनरूत्थानको कोशिस भएको छ त्यो सन्दर्भमा स्मरण गर्न आवश्यक ठानेर भनेको हुँ,’ उनले भने।
अहिले नयाँ तथ्य र प्रमाण भएको नभई जनताको प्रश्न मुखरित मात्रै गरिदिएको उनले बताए।
‘यो जनतालाई लागेको छ जनताको मनमा यी प्रश्न छन् यसको उत्तर खोज्नैपर्छ भन्ने हिसाबले भनेको हुँ।नयाँ तथ्य वा नयाँ प्रमाण भनेर भनेको होइन। पुरानै तथ्य पुरानै प्रमाण र आम जनताको मनमा जे छ त्यो कुरा मुखरित मात्रै गरेको हुँ,’ उनले भने।
शुक्रबार सिन्धुपाल्चोकको पार्टीको मेलम्ची नगर कमिटीले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले पूर्वराजा ज्ञानेन्द्रमाथि ‘भाइमारा’ ‘मूर्तिचोर’ र ‘सुन तस्कर’को आरोप लगाएका थिए।
प्रचण्डले यसो भन्नु नै तिलमिलाएको उदाहरण रहेको राजावादी शक्तिले बताएका छन्। यस अभियान चलाउने मध्यका एक जना स्वागत नेपाल भन्छन्,‘माओवादी खासगरी तर्सिएको छ। तर्सिनुपर्छ। अब राजासहितको लोकतन्त्रको कुरा छ। उनीहरु कमजोर बनिसकेका छन्।’
राजावादीको शक्ति प्रदर्शनको कार्यक्रम राखेपछि माओवादीले गरेको जागरण अभियान नै प्रभावित बनेको थियो। त्यसलाई स्थगित गरी माधवकुमार नेपाललगायतसँग मिलेर काठमाडौंमा शक्ति प्रदर्शनको निर्णय भयो।