५४ वटा संस्थाहरुले छ महिनामा गरे आठ खर्ब ३७ अर्बको कारोबार
काठमाडौंं । बैंकिङ क्षेत्रमा अन्तर बैंक कारोबार रकम घटेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्ष २०८१÷८२ को छ महिनामा वाणिज्य बैंकहरुको सात खर्ब ४५ अर्ब ९१ करोड र अन्य वित्तीय संस्थाहरु (वाणिज्य बैंकहरुबीच बाहेक) को ९२ अर्ब सात करोड गरी कुल आठ खर्ब ३७ अर्ब ९८ करोड रुपैयाँको अन्तर–बैंक कारोबार भएको छ। अघिल्लो वर्षको सोही अवधिमा वाणिज्य बैंकहरुको २३ खर्ब १६ अर्ब ९८ करोड र अन्य वित्तीय संस्थाहरुको दुई खर्ब ५७ अर्ब २२ करोड गरी कुल २५ खर्ब ७४ अर्ब २० करोड रुपैयाँको अन्तर बैंक कारोबार भएको थियो ।
राष्ट्र बैंकका अनुसार २०८० पुसमा ९१–दिने ट्रेजरी बिलको भारित औसत ब्याजदर तीन दशमलव ३७ प्रतिशत रहेकोमा २०८१ पुसमा दुई दशमलव ८१ प्रतिशत रहेको छ । बैंक तथा वित्तीय संस्थाहरुबीचको अन्तर बैंक कारोबारको भारित औसत ब्याजदर २०८० पुसमा दुई दशमलव ८६ प्रतिशत रहेकोमा २०८१ पुसमा तीन प्रतिशत रहेको छ । चालु आवको पुसमा वाणिज्य बैंकहरुको औसत आधार दर छ दशमलव ६५ प्रतिशत, विकास बैंकहरुको आठ दशमलव ६१ प्रतिशत र फाईनान्स कम्पनीहरुको नौं दशमलव ५० प्रतिशत रहेको छ । २०८० पुसमा वाणिज्य बैंकहरुको औसत आधार दर नौं दशमलव ३५ प्रतिशत, विकास बैंकहरुको ११ दशमलव ४९ प्रतिशत र फाईनान्स कम्पनीहरुको १२ दशमलव ७७ प्रतिशत रहेको थियो । २०८१ पुसमा वाणिज्य बैंकहरुको निक्षेपको भारित औसत ब्याजदर चार दशमलव ७५ प्रतिशत, विकास बैंकहरुको पाँच दशमलव ५६ प्रतिशत र फाईनान्स कम्पनीहरुको छ दशमलव ६६ प्रतिशत रहेको छ । २०८० पुसमा वाणिज्य बैंकहरुको निक्षेपको भारित औसत ब्याजदर सात दशमलव ३२ प्रतिशत, विकास बैंकहरुको आठ दशमलव ५५ प्रतिशत र फाईनान्स कम्पनीहरुको नौं दशमलव ६२ प्रतिशत कायम भएको थियो । त्यसैगरी, २०८१ पुसमा वाणिज्य बैंकहरुको कर्जाको भारित औसत ब्याजदर आठ दशमलव ६९ प्रतिशत, विकास बैंकहरुको १० दशमलव १० प्रतिशत र फाईनान्स कम्पनीहरुको ११ दशमलव १० प्रतिशत रहेको छ । २०८० पुसमा वाणिज्य बैंकहरुको कर्जाको भारित औसत ब्याजदर ११ दशमलव ३८ प्रतिशत, विकास बैंकहरुको १३ दशमलव १४ प्रतिशत र फाईनान्स कम्पनीहरुको १४ दशमलव शुन्य नौं प्रतिशत रहेको थियो ।
राष्ट्र बैंकका अनुसार चालु आवको पुस मसान्तसम्म निक्षेप संकलन बोलकबोलमार्फत १४ खर्ब ८६ अर्ब ६५ करोड र स्थायी निक्षेप सुविधामार्फत १२ हजार पाँच सय १४ अर्ब १५ करोड गरी कुल १४ हजार अर्ब ८० करोड (कारोबारमा आधारित) तरलता प्रशोचन गरिएको छ भने ८० करोड ओभरनाइट तरलता सुविधा उपयोग भएको छ । अघिल्लो वर्षको सोही अवधिमा मौद्रिक व्यवस्थापनका विभिन्न उपकरणहरुमार्फत पटक–पटक गरी खुद एक खर्ब ९९ अर्ब ५६ करोड तरलता प्रवाह गरिएको थियो । समीक्षा अवधिमा बैंकले विदेशी विनिमय बजार (वाणिज्य बैंकहरु) बाट अमेरिकी डलर दुई अर्ब ५२ करोड खुद खरिद गरी तीन खर्ब ४० अर्ब छ करोड तरलता प्रवाह गरेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा विदेशी विनिमय बजारबाट अमेरिकी डलर दुई अर्ब ७५ करोड खुद खरिद गरी तीन खर्ब ६६ अर्ब १४ करोड तरलता प्रवाह गरिएको थियो । समीक्षा अवधिमा अमेरिकी डलर एक अर्ब ९० करोड बिक्री गरी दुई खर्ब ५६ अर्ब ५३ करोड बराबरको भारतीय रुपैयाँ खरिद भएको छ । अघिल्लो वर्षको सोही अवधिमा अमेरिकी डलर एक अर्ब ८२ करोड बिक्री गरी दुई खर्ब ४२ अर्ब आठ करोड बराबरको भारतीय रुपैयाँ खरिद भएको राष्ट्र बैंकले जानकारी दिएको छ ।