बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ

बुधबार, फाल्गुन २१ २०८१

काठमाडौं । काठमाडौं महानगरपालिका–१४ मकालु पेट्रोल पम्म नजिकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २७ ग्राम ८ सय ३० मिलिग्राम सहित नुवाकोट लिखु गाउँपालिका–३ पट्टाबारी घर भई काठमाडौं चोभार बस्ने २७ वर्षीय बिक्रम तामाङ समेत ४ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

चितवनको भरतपुर नगरपालिका–३ पुलचोकस्थित लुम्बिनी गेष्ट हाउसबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १ ग्राम ५ सय मिलिग्राम, नियन्त्रित लागूऔषध नुर्फिन १६ एम्पुल, डाईजेपाम १२ एम्पुल, फेनारगन ९ एम्पुल, ट्रामाडोल ३ हजार ५ सय ट्याब्लेट, एनारगन ३ हजार ३ सय ८० ट्याब्लेट, ल्याप्टप १ थान, आई प्याड १ थान, मोवाईल ५ थान र नगद ४५ हजार ८ सय सहित ३ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही गेष्ट हाउसमा वेटर काम गर्ने पर्सा ठोरी गाउँपालिका–१ घर भएका १९ वर्षीय लोक बहादुर कुँवर, सोही गेष्ट हाउसमा कुकको काम गर्ने रत्ननगर नगरपालिका–१५ घर भई ३५ बर्षीय शुसन वाईवा र कालिका नगरपालिका–६ बस्ने ३५ वर्षीय राम बहादुर थिङ्ग रहेका छन् । वडा प्रहरी कार्यालय नारायणगढबाट खटिएको प्रहरीले गेष्ट हाउस तलासी गर्ने क्रममा उक्त लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।

नवलपरासी पश्चिमको बर्दघाट नगरपालिका–२ लन्डनब्रिजबाट नियन्त्रित लागूऔषध डाईजेपाम ६८ एम्पुल, बुप्रेनोर्फिन ६८ एम्पुल र प्रोमेथाजाईन ६८ एम्पुल सहित नवलपरासी पूर्व गैंडाकोट नगरपालिका–१० पितौजीटोल बस्ने ३१ वर्षीय शिव बहादुर थापा क्षेत्रीलाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बर्दघाटबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

कैलालीको धनगढी उपमहानगरपालिका–३ व्यारेलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम १० मिलिग्राम सहित सोही उपमहानगरपालिका–१३ बस्ने २१ बस्ने सुशिल रानालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

यसैगरी कैलालीको टीकापुर नगरपालिका–९ खक्रौलाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ सय १० मिलिग्राम सहित लम्कीचुहा नगरपालिका–२ बस्ने २५ वर्षीय राहुल शाही समेत २ जनालाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी कालाकुण्डाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको सु.प.प्र.०१–०१२ प १८८९ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

धनुषाको नगराइन नगरपालिका–१ हांसपट्टी बस्ने २३ वर्षीय चन्दन कुमार साहलाई अवैध लागूऔषध गाँजा १ किलो ३ सय ग्राम सहित मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय फुलगामाबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त गाँजा फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।