काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको चेकिङ एरियाबाट अवैध लागूऔषध गाँजाको धुलो जस्तो देखिने पदार्थ २२ किलोग्राम सहित दुई जना भारतीय नागरिकहरू मंगलबार दिउँसो पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा ४० वर्षीया र्याफक्यु मादा भायलिल र रश्मिना कालारोथ रहेका छन् ।
थाई एयरवेजको उडानद्वारा बैङ्ककबाट काठमाडौं आएका उनीहरूलाई भन्सार कार्यालयको चेकिङ एरियामा जाँच गर्ने क्रममा व्यागभित्र चकलेटको प्याकेटको फल्स बटम बनाई राखेको अवस्थामा र्याफक्यु मादाको साथबाट १२ किलोग्राम र रश्मिनाको साथबाट १० किलोग्राम उक्त पदार्थ फेला पारी दुवै जनालाई पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि लागूऔषध नियन्त्रण ब्यूरो पठाइएको छ ।