बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ

बुधबार, फाल्गुन २१ २०८१

काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा चितवन भरतपुर महानगरपालिका–१७ घर भई ललितपुर, ललितपुर महानगरपालिका–१४ बस्ने ४६ वर्षीय अंगद कुमार जोशी, गोरखा बारपाक सुलिकोट गाउँपालिका–४ घर भई काठमाडौं महानगरपालिका–२६ बस्ने ४७ वर्षीय जगदिश्वर पनेरू र उदयपुर उदयपुरगढी गाउँपालिका–१ घर भई काठमाडौं महानगरपालिका–३ बस्ने ३३ वर्षीय नर माया कार्की रहेका छन् ।

पक्राउ मध्ये अंगदले जापान पठाइदिन्छु भन्दै १ जना पीडितबाट ११ लाख ६० हजार रूपैयाँ, जगदिश्वरले क्रोएसिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख रूपैयाँ र नर मायाले क्रोएसिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख ९९ हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले अंगदलाई काठमाडौं नागार्जुन नगरपालिका–१ बाट सोमबार तथा जगदिश्वरलाई काठमाडौं महानगरपालिका–१२ बाट र नर मायालाई काठमाडौं महानगरपालिका–३ बाट मंगलबार पक्राउ गरेको हो ।

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचाल काठमाडौं पठाइएको छ ।