बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३

नेसपा (नयाँ शक्ति) को अध्यक्षमा डा.बाबुराम भट्टराई निर्वाचित

शुक्रबार, फाल्गुन २ २०८१

काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को अध्यक्षमा डा.बाबुराम भट्टराई निर्वाचित भएका छन् । नयाँ शक्तिको प्रथम महाधिवेशनको निर्वाचनबाट अध्यक्षमा पुनः भट्टराई निर्वाचित भएका हुन् । अध्यक्षका लागि भट्टराईसँग नेत्र चापागाईंले प्रतिस्पर्धा गरेका थिए । मत परिणामअनुसार भट्टराईले ७६१ मत ल्याउँदा चापागाईंले जम्मा ७३ मत प्राप्त गरे । प्रतिस्पर्धीभन्दा ६८८ मत बढी ल्याएर डा. भट्टराई नेतृत्वमा निर्वाचित भएका हुन् । महाधिवेशनमा एक हजार ३२४ जना प्रतनिधि रहेकोमा जम्मा ८२६ मत खसेको थियो ।

लामो समयदेखि वैकल्पिक राजनीतिक शक्तिको वकालत गर्दै आएका भट्टराईकै नेतृत्वले निरन्तरता पाउँदा नयाँ शक्ति आफैँमा कति नयाँ भन्ने प्रश्न उठेको छ । भट्टराईसँगै माओवादी छाडेर लागेकाहरू नयाँ शक्तिको विभिन्न जिम्मेवारीमा निर्वाचित भएका हुन् । निर्वाचनबाटै उपाध्यक्षमा ईश्वर रिजाल, टेकबहादुर बाठामगर र उमेश साह निर्वाचित भएका हुन्। भट्टराई पुत्री मानुषी यमी महिला उपाध्यक्षमा निर्विरोध निर्वाचित भइन् । दलिततर्फको उपाध्यक्षमा दुर्गा सोब र कोषाध्यक्षमा हरि रिजालसहित २२ जना निर्विरोध निर्वाचित भएका हुन् । नेसपा ९नयाँ शक्ति० को केन्द्रीय समिति ९९ सदस्यीय हुनेछ । जसमध्ये २० प्रतिशत युवा आरक्षण छुट्याइएको छ ।

नेकपा माओवादीका संस्थापन, युद्धकालीन माओवादी जनसरकारका प्रमुख तथा पूर्व-प्रधानमन्त्रीसमेत भएका डा. भट्टराईले संविधान सभाबाट संविधान बनेलगत्तै माओवादी पार्टी छाडेर नयाँ शक्ति निर्माणको घोषणा गरेका थिए । भट्टराईको नेतृत्वमा नयाँ शक्ति पार्टी गठन भए पनि विभिन्न समयमा विभिन्न पार्टीसँग एकता हुने क्रममा नयाँ शक्तिको अस्तित्व सकिइसकेको थियो । गत संसदीय निर्वाचनमा नेपाल समाजवादी पार्टीको नेतृत्व गरेका भट्टराई आफू कुनै पदको उम्मेदवार रहेनन् । सो पार्टीका नेताहरू नेकपा माओवादी केन्द्रको चुनाव चिन्हमा चुनाव लडेका थिए । गत वर्ष नेसपा पनि विभाजित भएपछि डा. भट्टराईले नेसपाको नाम फेरेर नेसपा ९नयाँ शक्ति० बनाए । नेसपाको नाममा नयाँ शक्ति जोडे पनि नेतृत्व भने पुरानै स्थापित भएको छ ।