विभिन्न खातामा दुई खर्ब १९ अर्ब ८३ करोड रुपैंयाँ मौज्दात
काठमाडौं । सरकारले चालु आर्थिक बर्षको पछिल्लो पाँच महिनाको अवधिमा झण्डै छ खर्ब रुपैंयाँ खर्च गरेको देखिएको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार आर्थिक वर्ष २०८१÷८२ को पाँच महिनामा नेपाल सरकारको कुल खर्च पाँच खर्ब ५६ अर्ब १२ करोड रुपैंयाँ रहेको हो।
महालेखाका चालु आवको पछिल्लो पाँच महिनामा चालु खर्च तीन खर्ब ६३ अर्ब ५५ करोड, पुँजीगत खर्च ४० अर्ब ८० करोड र वित्तीय व्यवस्था खर्च एक खर्ब ५१ अर्ब ७७ करोड रुपैंयाँ समेत गरी उक्त परिमाणमा खर्च भएको हो । समीक्षा अवधिमा सरकारको कुल राजस्व परिचालन अन्र्तगत प्रदेश सरकार तथा स्थानीय सरकारमा बाँडफाँट हुने रकम समेत गरी तीन खर्ब ९९ अर्ब ६० करोड रुपैंयाँ पुगेको छ । यस अन्तर्गत कर राजस्व तीन खर्ब ६२ अर्ब ५८ करोड र गैर कर राजस्व ३७ अर्ब दुई करोड परिचालन भएको छ।
महालेखाका अनुसार २०८१ मंसिर मसान्तमा नेपाल राष्ट्र बैंकमा रहेका सरकारका विभिन्न खातामा दुई खर्ब १९ अर्ब ८३ करोड रुपैंयाँ रहेको छ । यसमा प्रदेश सरकार तथा स्थानीय सरकारको खातामा रहेको रकम समेत समावेश रहेको महालेखाको भनाई छ।
२०८१ असार मसान्तमा यस्तो मौज्दात ९१ अर्ब ७८ करोड रहेको थियो । समीक्षा अवधिमा प्रदेश सरकारहरुको कुल खर्च भने ३२ अर्ब ६३ करोड रुपैंयाँ र स्रोत परिचालन ६९ अर्ब ५४ करोड रुपैंयाँ रहेको छ । प्रदेश सरकारहरुको कुल स्रोत परिचालनमा नेपाल सरकारले हस्तान्तरण गरेको अनुदान र विभाज्य कोषबाट बाँडफाँट हुने राजस्वसमेत गरी ५५ अर्ब २७ करोड र प्रदेश सरकारहरुले परिचालन गरेको तथा अन्य स्रोतबाट प्राप्त राजस्व १४ अर्ब २७ करोड रुपैंयाँ रहेको छ।
चालु आर्थिक वर्ष २०८१÷८२ को पाँच महिनामा विस्तृत मुद्राप्रदाय तीन दशमलव तीन प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त मुद्राप्रदाय चार दशमलव आठ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०८१ मंसिर मसान्तमा विस्तृत मुद्राप्रदाय ११ दशमलव दुई प्रतिशतले बढेको छ । समीक्षा अवधिमा खुद वैदेशिक सम्पत्ति (विदेशी विनिमय मूल्याङ्कन नाफा/नोक्सान समायोजित) दुई खर्ब २५ अर्ब ३४ करोड अर्थात ११ दशमलव तीन प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त सम्पत्ति दुई खर्ब १६ अर्ब ५ करोड अर्थात १४ दशमलव आठ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा सञ्चित मुद्रा १० दशमलव नौं प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुद्रा एक दशमलव सात प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०८१ मंसिर मसान्तमा सञ्चित मुद्रा १७ दशमलव चार प्रतिशतले बढेको छ।
चालु आर्थिक वर्ष २०८१÷८२ को पाँच महिनामा कुल आन्तरिक कर्जा एक दशमलव छ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त कर्जा दुई दशमलव आठ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०८१ मंसिर मसान्तमा यस्तो कर्जा चार दशमलव नौं प्रतिशतले बढेको छ । समीक्षा अवधिमा मौद्रिक क्षेत्रको सरकारमाथिको खुद दाबी १० दशमलव आठ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो दाबी तीन दशमलव दुई प्रतिशतले घटेको थियो । वार्षिक बिन्दुगत आधारमा २०८१ मंसिर मसान्तमा यस्तो दाबी चार दशमलव दुई प्रतिशतले घटेको छ । समीक्षा अवधिमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दाबी चार दशमलव पाँच प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो दाबी तीन दशमलव आठ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०८१ मंसिर मसान्तमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दाबी छ दशमलव आठ प्रतिशतले बढेको छ।