सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३

देउवा–गगन केमिस्ट्रिको नयाँ कथा

महामन्त्री थापालाई आगामी सभापतिको उम्मेदवार बनाउने रणनीतिमा छन् त देउवा ?

सोमबार, कार्तिक २६ २०८१

काठमाडौं । अन्य पार्टीमा आन्तरिक लोकतन्त्रको खडेरी लागे पनि नेपाली कांग्रेसमा भने त्योभन्दा पनि उन्नत केमिस्ट्रि बन्न थालेको छ। त्यसको पछिल्लो उदाहरण हो, सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाको निकटता।

यो निकटताले कांग्रेसका कतिपय नेतालाई चकित तुल्याएको छ।

एमालेमा ओलीको उदयसँग माधवकुमार नेपाल, झलनाथ खनालहरु कर्नरमा मात्र पुगेनन्, विभाजन गरेर अर्को दल खोलन विवश पनि भएका छन्। आन्तरिक आलोचना गरेका कारण नै भिम रावल एमालेको स्पष्टीकरण दिन बाध्य भएका पूर्वउपाध्यक्ष हुन्।

माओवादीका प्रचण्डको विकल्प नै तयार गरिएको छैन। यहाँसम्मकी प्रचण्डको सार्वजनिक रुपमा आलोचना पहिलो पटक जनार्दन शर्माबाट केही महिनाअघि मात्र सुनिएको थियो, तथापी विकल्पचाहिँ खोज्ने कोशिशसम्म हुन सकेन।

कांग्रेसमा पराजय नै हुने स्थिति बने पनि संसदीय दलको नेतामा सभापति देउवासँग महामन्त्री थापा प्रतिस्पर्धामा उत्रिए। सामान्यतया अन्य दलमा हो भने प्रतिस्पर्धीको जरो नै काट्ने काम हुने थियो।

तर, महामन्त्री थापा आफ्नै प्रतिस्पर्धामा उत्रिँदा पनि देउवाले सन्निकट राखेका छन्। अझ भनौ, अहिले देउवाका सेनापति नै थापा हुन्।स्रोतले भन्यो,‘१५औं महाधिवेशनमा देउवा सभापतिमा उम्मेदवार नहुँदा थापालाई नै अगाडि बढाएर जाने सुरुमा छन्। अहिलेसम्मको परिदृश्य त्यस्तै देखिन्छ।’

आगामी महाधिवेशनमा सभापति हुन चाहने निक्कै छन्। देउवा क्याम्पकै कुरा गर्दा उपसभापति पूर्णबहादुर खड्का एउटा अर्का प्रतिस्पर्धी पात्र हुन्। तर देउवा भने थापालाई च्यापिरहेका छन्। यसको राजनीतिक अर्थ स्पष्ट हुने विश्लेषकहरू बताउँछन्।

सरकार र पार्टीमा पनि सक्रिय हुन थालेकी परराष्ट्रमन्त्री आरजु राणा देउवाको राजनीतिक भविष्यालाई लिएर पनि देउवाले विविध प्रकारका नेतासँगको निकटतालाई बलियो बनाउन थालेको चर्चा हुन्छ।

यो पृष्ठभूमी तयार हुनुपूर्व भने अर्का महामन्त्री विश्वप्रकाश शर्मा र महामन्त्रीका प्रतिस्पर्धी हालका स्वास्थ्यमन्त्री प्रदीप पौडेल र महामन्त्री थापाको एउटा समूह बलियो रहेको थियो। राजनीतिक घटनाक्रम जुन मोडमा अघि बढे पनि कांग्रेसभित्र प्रतिस्पर्धाको प्रचलन भने जीवित नै रहेको छ। यसको अर्को उदाहरण नै आफैंसँग प्रतिस्पर्धा गरेका पौडेललाई थापाकै जोडबलमा स्वास्थ्यमन्त्री बनाइनु पनि हो।

देउवा र थापाको सम्बन्धको यात्रा कति लामो जाने हो, त्यो हेर्न बाँकी छ। तर, अहिलेको सम्बन्धको अर्थचाहिँ भोलीको महाधिवेशन नै हुने आँकलन गर्नु न्यायोचित हुन आउँछ।

यता थापालाई १४औं महाधिवेशनमा आफ्नो क्याम्पको महामन्त्रीका उम्मेदवार बनाउँदै जित निकाल्न सहयोग गरेका नेता डा. शेखर कोइराला पनि आगामी महाधिवेशनमा सभापतिका प्रतिस्पर्धी बन्दैछन्। देउवा क्याम्पमा रहेका बालकृष्ण खाँणलगायतका नेतासँग उनको निकटता पछिल्ला दिनमा साँघुरो हुन थालेको पनि चर्चा चलिरहेका छन्।