सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट चार जना पक्राउ

बुधबार, कार्तिक २१ २०८१

काठमाडौं । बर्दियाको बढैयाताल गाउँपालिका–२ फुटाह चेकपोष्टस्थित सडकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ सय ५० मिलिग्राम सहित खजुरा गाउँपालिका–५ रजनवा बस्ने २७ वर्षीय ननकउ कन्दुलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी जमुनी र बिओपि फुटाहबाट खटिएको संयुक्त टोलीले भारतबाट नेपालतर्फ साइकलमा आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।

मोरङको बिराटनगर महानगरपालिका–१५ एक नम्बर ढाटस्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ६ सय २० मिलिग्राम सहित कानेपोखरी गाउँपालिका–५ बस्ने २२ वर्षीय युसन बिकलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।

झापाको मेचिनगर नगरपालिका–६ काँकरभिट्टास्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६ ग्राम सहित शिवसताक्षी नगरपालिका–१ बस्ने २७ वर्षीय पुकार तामाङलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।

दार्चुलाको मार्मा गाउँपालिका–३ बिटुले बस्ने ३० वर्षीय लोकेन्द्र महरलाई अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ २ किलो २ सय ग्राम सहित मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय गोकुलेश्वरबाट खटिएको प्रहरीले उनको घर र पसलमा तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।