सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३

गृहमन्त्री रमेश लेखकबाट ई–चलान (डिजिटल चिट) को शुभारम्भ

सोमबार, कार्तिक ५ २०८१

काठमाडौं । गृहमन्त्री रमेश लेखकले काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा आइतबार आयोजित समारोह बिच ट्राफिक भायोलेशन रेर्कड सिस्टम (टिभिआरएस) ई–चलान (डिजिटल चिट) को शुभारम्भ गर्नुभएको छ । साथै उनले ई–चलानको प्रयोग सम्बन्धी स्थलगत अवलोकन समेत गरे।

समारोहलाई सम्बोधन गर्दै गृहमन्त्री लेखकले राज्यको तर्फबाट सबै सेवाग्राहीलाई सरल, सुलभ, पारदर्शी, झन्झटिलो र जटिलता रहित सेवा प्रवाह गर्नु सरकारको मुख्य उद्देश्य रहेको चर्चा गर्दै आईतबार शुभारम्भ भएको प्रविधिले सबै सेवाग्राहीलाई सरल एवम् सुलभ रूपमा सेवा प्रदान गर्ने विश्वास व्यक्त गरे।

साथै ट्राफिक प्रहरीले यस प्रविधिको सफल प्रयोग गर्दै उदाहरणीय कार्यसम्पादनको लागि उनले शुभकामना समेत दिए । सबै सेवाप्रदायक प्रशासनलाई प्रविधियुक्त बनाउँदै लैजाने र सुशासन स्थापना गर्ने विषयमा सरकार अगाडी बढेको उनले बताए।

गृहमन्त्री लेखकले सरकारसँग नागरिकलाई जोड्ने पहिलो अंग प्रहरी भएको उल्लेख गर्दै सबै प्रहरी कर्मचारीहरूले थप संयमित एवम् इमानदार भएर नागरिकलाई सेवा प्रदान गर्न अग्रसर हुनुपर्ने बताए । सवारी दुर्घटना ठूलो चुनौतिको रूपमा देखा परेको बताउँदै उनले त्यसको न्यूनिकरण गर्न सरोकारवाला सबै निकायहरूले आ–आफ्नो जिम्मेवारी गम्भीरतापूर्वक बोध गरेर कार्यान्वयन गर्नुपर्ने बताए । दुर्घटना न्यूनिकरण, ट्राफिक नियमको पालना लगायतका विषयमा अझ बढि सचेतनामूलक कार्यक्रम संचालन गर्नुपर्नेमा उनले जोड दिए।

सो अवसरमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल र बागमती प्रदेश श्रम, रोजगार तथा यातायात मन्त्री प्रेमभक्त महर्जनले ई–चलानको शुभारम्भ स्वागत योग्य रहेको चर्चा सहित आ–आफ्नो मन्तव्य व्यक्त गरे । कार्यक्रममा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले सडक सुरक्षा एवम् ट्राफिक व्यवस्थापन सम्बन्धमा नविनतम प्रविधिको माध्यमबाट आम नागरिकमा सहज, सरल, पारदर्शी र गुनासो रहित ढंगको सेवा प्रवाहलाई प्रवर्द्धन गर्ने हेतुले यस प्रविधिको शुभारम्भ भएको बताए । त्रुटिरहित तवरबाट यसको कार्यान्वयनका लागि नेपाल प्रहरी सदैव कटिवद्ध रहने उनले उल्लेख गरे।

प्रहरी महानिरीक्षक कुँवरले सडक सुरक्षा एवम् ट्राफिक व्यवस्थापन नेपाल प्रहरीको जिम्मेवारी अन्तर्गत रहेको विशिष्टिकृत कार्य रहेको उल्लेख गर्दै यसको समयानुकूल आधुनिकीकरण र परिमार्जनमा नेपाल प्रहरीले आफ्नो स्रोत साधनले भ्याएसम्म आफ्ना प्रयासहरू निरन्तर राखेको बताए । आईतबार शुभारम्भ भएको ई–चलान प्रविधिको प्रयोग गरी ट्राफिक कारवाहीलाई प्रविधिमैत्री बनाउन सहयोग सिद्ध हुने अपेक्षा लिएको उल्लेख गर्दै यो सेवा कम झन्झटिलो र गुनासो रहित हुने विश्वास समेत उनले व्यक्त गरे।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका प्रमुख प्रहरी नायव महानिरीक्षक भरत बहादुर बोहराले स्वागत मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा प्रहरी निरीक्षक दिपेन्द्र प्रसाद साहले टिभिआरएसको विकासक्रम, टिभिआरएस र नागरिक एप इन्ट्रिगेशन, ई–चलान कार्यान्वयनको अवस्था, कारवाहीको प्रकृया, अन्य नागरिकमैत्री एप्लिकेसन लगायतका विषयमा प्रस्तुतीकरण गरेका थिए ।ककक उक्त अवसरमा ई–चलान सम्बन्धी संक्षिप्त श्रब्यदृश्य प्रदर्शनका साथै ई–चलान सम्बन्धमा अन्तरक्रिया समेत गरिएको थियो।

कार्यक्रममा गृह सचिव गोकर्णमणि दुवाडी, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव, काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक, प्रधानमन्त्रीका सूचना प्रविधि विज्ञ, काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी, वरिष्ठ प्रहरी अधिकृतहरू, सञ्चारकर्मीहरू, ट्राफिक व्यवस्थापन एवम् सडक सुरक्षासँग आवद्ध सरोकारवाला निकाय एवम् संघ संस्थाका प्रमुख एवम् प्रतिनिधिहरू लगायतको उपस्थिति रहेको थियो।