काठमाडौं । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१९ नेवारपानीबाट अवैध लागूऔषध गाँजा करिब १ सय ७ किलोग्राम सहित थाहा नगरपालिका–२ पालुङ बस्ने २४ वर्षीय सुजन तामाङलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय नेवारपानीबाट खटिएको प्रहरीले मनहरीबाट हेटौंडातर्फ जाँदै गरेको बा.१२ च २८८५ नम्बरको बोलेरो गाडीलाई जाँच गर्ने क्रममा प्लाष्टिकमा प्याकिङ गरेको १४ वटा प्याकेटमा रहेको उक्त परिमाणको गाँजा फेला पारी गाडी चालक तामाङलाई पक्राउ गरेको हो।
कैलालीको टिकापुर नगरपालिका–४ अस्नेरीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम १ सय २० मिलिग्राम सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा टिकापुर नगरपालिका–१ नया बस्ती बस्ने २१ वर्षीय धुर्व साउद र २४ वर्षीय देबराज साउद रहेका छन् । इलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।
बाराको जितपुर सिमरा उपमहानगरपालिका–७ बैदेही पेट्रोल पम्प अगाडि सडकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १० ग्राम सहित पर्सा वीरगंज महानगरपालिका–२१ बस्ने ५८ वर्षीय बिरेन्द्र प्रसाद साह समेत २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय जितपुर र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय वीरगंज पर्साबाट खटिएको संयुक्त टोलीले वीरगंजबाट जितपुरतर्फ जाँदै गरेको ना.२२ प ९९९४ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।
बाँकेको खजुरा गाउँपालिका–७ बठुवाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय ४० मिलिग्राम सहित ३ जनालाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३० वर्षीय रिङकु श्रीवास्तव, २३ वर्षीय हसन महोमद साई र २४ वर्षीय फरमान खाँन रहेका छन् । इलाका प्रहरी कार्यालय धनौलीबाट खटिएको प्रहरीले रिङकुको घरबाट उक्त पदार्थ फेला पारी तीनै जनालाई पक्राउ गरेको हो।
सुनसरीको बर्जु गाउँपालिका–५ पक्कीटोलबाट अवैध लागूऔषध गाँजा करिब २५ किलोग्राम सहित देवानगंज गाउँपालिका–१ मध्यहर्षाही बस्ने १८ वर्षीय किशोरलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय दुहबीबाट खटिएको प्रहरीले पक्किटोलतर्फ आउँदै गरेको अल्फाबेट नखुलेको ९११३ नम्बरको मोटरसाइकलमा सवार ती किशोरलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । हाल मोटरसाइकल सहित फरार भएका चालकको प्रहरीले खोजी गरिरहेको छ।
सिराहाको मिर्चैया नगरपालिका–२ सिक्रोन जाने भित्री बाटोबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम २१ मिलिग्राम सहित मिर्चैया नगरपालिका–२ मलिनिया पिडारी बस्ने २७ वर्षीय कासिन्दर मण्डललाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।
दाङको घोराही उपमहानगरपालिका–१४ बसपार्क नजिकैबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ८० मिलिग्राम सहित सोही ठाउँस्थित न्यू थवाङ्गी लालीगुराँस खाजा घरका संचालक रोल्पा घर भएका २३ वर्षीय किशोर सुनारलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय घोराहीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।
यसैगरी दाङको घोराही उपमहानगरपालिका–१४ बसपार्कस्थित न्यू कोसेली खाजा घर संचालन गरी बस्ने रोल्पा घर भएकी ४७ वर्षीया मिना घर्ति मगरलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ८ सय ५० मिलिग्राम सहित बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।