काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले बजारको माग र चाहना बमोजिम नेपालको बैंकिङ बजारमा सर्वाधिक न्युन ब्याजदर सात दशमलव ७० मा ने.बै.लि. सर्वसुलभ आवास कर्जा ल्याएको छ । ने.बै.लि. सर्वसुलभ आवास कर्जा अन्तर्गत ग्राहकले घर खरिद, नयाँ घर निर्माण, घर मर्मत, सम्भार, जिर्णोद्वार तथा अन्य र्बैकको कर्जा खरिद र अपार्टमेन्ट समेत खरिद गर्न सक्नेछन् । बैंकले पाँच वर्षदेखि २५ वर्षसम्मको भुक्तानी अवधि तोकि सेवा शुल्कमा अधिकतम ३३ दशमलव ३३ प्रतिशतसम्म छुट प्रदान गरी पाँच लाखदेखि अधिकतम दुई करोड रुपैंयाँसम्म कर्जा उपलब्ध गराउने भएको छ।
यसका अतिरिक्त बैंकले समृद्ध व्यवसाय कर्जा, ने.बै.लि.अटो लोन लगायत विभिन्न कर्जाको ब्याजदर समेत उल्लेख्य प्रतिशतले घटाएको छ । कर्जा सिमा १० करोडसम्म रहेको बैंकले समृद्ध व्यवसाय कर्जाको ब्याजदर आठ दशमलव २८ प्रतिशत रहेको छ भने व्यवसायिक ग्राहकहरुले चालुपूँजी तथा स्थिरपूँजी व्यवस्थापनको लागि यो कर्जा उपभोग गर्न सक्नेछन् । त्यसैगरी नयाँ गाडी खरिदको लागि पाँच र सात वर्ष भुक्तानी अवधि राखि बैंकले प्रवाह गर्ने बैंकले अटो कर्जाको व्याजदर हाल सात दशमलव ७८ प्रतिशत रहेको छ।
हाल नेपालभर दुई सय २९ वटा शाखा, ६० एक्स्टेन्सन काउण्टर र दुई सय पाँच वटा एटिएम काउण्टरबाट सेवा सञ्चालन गरिरहेको यस बैंकले आफ्नो ऐतिहासिक विरासतलाई कायम राख्दै अत्याधुनिक प्रविधिलाई आत्मसाथ गर्दै समयानुकूल थप सरल र सहज ग्राहक सेवा प्रदान गर्न बैंक सधैं कटिबद्ध रहेको छ।