आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

फेरि तीन भाई

सोमबार, असोज १४ २०८१

काठमाडौं । जब–जब महाधिवेशन नजिक आउँछ अनि लेनदेनका निम्ति बक्र चालका अनेक समूह खडा हुने पार्टी हो, नेपाली कांग्रेस। अनेक दाउपेच र लाभको पदका निम्ति बार्गेनिङको परम्परालाई निरन्तरता दिने अनेक प्रकारका नेता छन्।

नेपाली कांग्रेसको महाधिवेशन नजिकिएपछि पार्टीको बिरासती ब्याजमा टिकेका तीन जना नेता जुटेका छन्। वीपीपुत्र शशांक कोइरालाको निवासमा महेन्द्रनारायणपुत्र बिमलेन्द्र निधि र गणेशमानपुत्र प्रकाशमानसिंहको भेट भएको हो।

गत महाधिवेशनमा बिमलेन्द्र र प्रकाशमान सभापतिमा उम्मेदवार बनेका थिए। ज्यादै कम मत ल्याएका दुवै जनाले दोस्रो राउन्डमा शेखर कोइरालाविरुद्ध शेरबहादुर देउवालाई उनीहरूले सघाएका थिए। १४औं महाधिवेशनमा देउवा २७२४ मतसहित सभापति निर्वाचित भएका थिए। पहिलो चरणमा निधि र सिंहको सहयोग नहुँदा ५० प्रतिशत पनि मत नकटाएका देउवा उनीहरूको सहयोग पाउँदा दोस्रो चरणमा ६० प्रतिशत मतसहित निर्वाचित भएका थिए। अब १५औं महाधिवेशन नजिक आएपछि तीनै नेता छलफलमा जुटेका छन्।

कतिपय कांग्रेस नेता र खासगरी संस्थापनइतरका नेताले तीनै जनालाई ‘मत बेचेको’ भनी आरोप समेत लगाएका थिए। शेखर पराजित गर्नेमा बिमलेन्द्र र प्रकाशमानको भूमिका थियो भने दाजु भए पनि शशांक देउवा पक्षमा लागेका थिए। त्यो महाधिवेशनमा पहिलो चरणमा सिंहले ३७१, निधिले २५० र गुरूङले २२ मत प्राप्त गरेका थिए यो मत दोस्रो चरणमा देउवालाई गएको देखिन्थ्यो।

केन्द्रीय समितिको बैठकले आगामी बर्षको मंसिरसम्ममा महाधिवेशन सम्पन्न गर्ने निर्णय गरेको छ। त्यसअघि विधान संशोधन हुनेछ। शशांक, बिमलेन्द्र र प्रकाशमानले महाधिवेशनलाई लिएर एक ठाउँमा उभिने चर्चा गरेका थिए। अघिल्लो महाधिवेशनमा पनि यी तीन जनाको यसरी नै छलफल चलेको थियो।

यता महामन्त्री गगन थापा सभापतिका लागि तयार भइरहेका बेला यी तीन नेताले कुन लेनदेनका लागि गठबन्धन गरिरहेका होलान्? गगनले सभापति उठ्ने बेला भएको छैन भनी सार्वजनिक टिप्पणी गर्ने शशांक प्रकाशमान र विमलेन्द्रको कित्तामा उभिएर नयाँ केही गर्नेछन् या दाई शेखर कोइरालालाई सहयोग गर्न तल्लिन हुनेछन्? समयले देखाउनेछ।