काठमाडौँ । देशभर लगातार परेको पानीका कारण आएको बाढीले सडकलाई क्षति पुर्याएको छ । त्यसले गर्दा उपत्यकामा तरकारी नभित्रिँदा उपत्यकावासीले महँगो मूल्य तिरेर पनि तरकारी उपभोग गर्न पाएका छैनन् । भएको केही तरकारी पनि महंगिएर किन्न नसक्ने अवस्था छ ।
वर्षाले गर्दा उपत्यका र आसपासका जिल्लामा उत्पादन भएका तरकारीसमेत बजारसम्म ल्याउन सकेको छैन । कालीमाटीमा चितवन, मकवानपुर, दोलखा, धादिङ, काभ्रे, नुवाकोट, तराईका बारा, पर्सा, सर्लाही, सप्तरी, महोत्तरीसम्मको तरकारी आउने गरेको छ तर तीन दिनदेखि ती ठाउँबाट तरकारी आइपुगेको छैन । त्यसैले उपत्यकामा तरकारी अभाव भएको हो ।
बजारमा तत्काल पेट्रोलियम पदार्थको अभाव नहुने भएको नेपाल आयल निगमले जनाएको छ ।
अविरल वर्षाका कारण बाटो नियमित रूपमा सुचारु नभए पनि पर्याप्त मौज्दात रहेकाले अभाव नहुने नेपाल आयल निगमले जनाएको छ । निगमका प्रवक्ता पूर्णप्रसाद रिजालले उपत्यकामा एक हप्तालाई पुग्ने इन्धन मौज्दात रहेकाले अभाव नहुने बताए ।
निगमका अनुसार हाल पाँच हजार तीन सय किलोलिटर पेट्रोल, छ हजार तीन सय किलोलिटर डिजेल र चार हजार किलोलिटर हवाई इन्धन मौज्दात रहेको छ । एक हप्तालाई पर्याप्त पुग्ने मौज्दात रहेको निगमले जनाएको छ । यद्यपि वर्षाका कारण बाटो अवरुद्ध हुँदा उपत्यकामा पेट्रोलियम पदार्थको आपूर्ति नियमित हुन सकेको छैन ।
यसैबिच खाना पकाउने एलपी ग्यासको समेत दुईदेखि चार दिनसम्म अभाव नहुने एलपी ग्यास उद्योग सङ्घले जनाएको छ । लामो समयसम्म आपूर्ति नियमित नभए बजारमा अभाव हुन सक्ने सङ्घ अध्यक्ष शिवप्रसाद घिमिरेले बताए। हाल बुलेट र सिलिन्डर गरेर १५ देखि २० हजार मेट्रिक टनसम्म ग्यास मौज्दात छन् । ग्यास कम्पनीका अधिकांश प्लान्ट उपत्यका बाहिर रहेकाले पनि बाटो बन्द हुँदा ग्यास उपत्यकामा आउन नसकेको उनको भनाइ छ । एभरेस्ट, नेपाल, उग्रचण्डी, एसटिसी कम्पनीका प्लान्ट उपत्यकामै रहेकाले तत्काल अभाव नहुने उनको भनाइ छ ।
ग्यास बुलेट ल्याउन लागि बाटो फराकिलो आवश्यक पर्ने हुन्छ । एउटा ग्यास बुलेटमा १८ टन ग्यास हुने गर्छ ।