आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

कुटुम्ब बचत तथा ऋण सहकारीको १३ औं बार्षिक साधारण सभा सम्पन्न

बजार बिस्तारको आक्रामक योजना सहितको बार्षिक नीति तथा कार्यक्रम सार्वजनिक

आइतबार, असोज १३ २०८१

काठमाडौं । काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं ३२ कोेटेश्वरमा केन्द्रिय कार्यालय रहेको कुटुम्ब बचत तथा ऋण सहकारी संस्थाको १३ औं बार्षिक साधारण सभा भव्यरुपमा सम्पन्न भएको छ । संंस्थाले अध्यक्ष सुदिप कुुमार खनालको अध्यक्षता एवं काठमाडौं बचत तथा ऋण सहकारी संघ (कास्कून) का अध्यक्ष दिपक पनेरुको प्रमुख आतिथ्यतामा बार्षिक साधारण सभा सम्पन्न गरेको हो।

सभामा कास्कुनमा अध्यक्ष पनेरुले सहकारी र बैंकको बीचमा धेरै फरक भएको भन्दै बैंक नाफामुखी भएको र सहकारीले सदस्यको हरेक क्षेत्रमा जोडिएर सेवा दिने गरेको बताए । सहकारी अभियानले वृहत उदेश्य बोकेको भए पनि त्यसको महत्वलाई आम सदस्य माझ बुझाउन नसक्दा सहकारीप्रति गलत धारणा विकास भयो, उनले भने । देशभर करिब छ सय सहकारी संस्था मात्रै समस्यामा परेको भन्दै उनले बाँकी सहकारीले उदेश्य अनुसार काम गर्दै अगाडि बढेकोे समेत गरे । सहकारीले समाजमा धेरै योगदान गरेको भए पनि त्यसको प्रचारप्रसारमा कमी भयो, उनले भने । यो अवस्थामा घर परिवार र आफन्तले विश्वास नगरेको अवस्थामा पनि सहकारीले विश्वास गरेर ऋण सुविधा दिएको गुणलाई बिर्सेर हल्लाको पछि मात्र नलाग्न उनले सदस्यहरुलाई आग्रह गरे । सहकारीमा सबैले बचत झिकेर बैंक र फाइनान्समा लगेपछि सञ्चालक र व्यवस्थापकले चाहेर मात्र संस्था नटिक्ने उनले प्रष्ट पारे । संस्थामा गलत हुन आँटेको छ भने खबरदारी गर्नुपर्छ तर खबरदारीसँगसँगै जिम्मेवारी पुरा गर्न सदस्यहरु पनि लाग्नु पर्छ, उनले भने। सदस्यहरुले मासिक बचत नगर्ने र लगेको ऋणको साँवा ब्याज समय नतिर्दा समस्या आउने भएकाले सदस्यहरुलाई आफ्नो जिम्मेवारी पुरा गर्न उनले सुझाए । सहकारीमा ७० लाख मानिस आवद्ध भएको भन्दै पनेरुले राजनीतिक र धार्मिक संघ संस्थामा पनि यति ठुलो जनसंख्या नजोडिएकाले यो क्षेत्रलाई बलियो बनाउनुको विकल्प नरहेको बताए। एउटा सहकारीमा समस्या आउँदा त्यसको प्रभाव सिंगो अभियानमा पर्ने भएकाले सहकारी संस्थालाई सुरक्षित र बलियो बनाएर लैजानुपर्ने अध्यक्ष पनेरुको भनाई छ।

सभामा अध्यक्ष खनालले प्रतिवेदन प्रस्तुत गर्दै सहकारी सिद्धान्त अनुसार संस्था सञ्चालन भइ वित्तीय पहुँचबाट टाढा रहेका सदस्यहरुलाई एकिकृत गरी सेवा प्रदान गर्दै आएको बताए । समाजमा छरिएर रहेको ससानो पुँजीलाई बचतको माध्यमबाट एकीकृत गरी सदस्यहरुको वित्तीय आवश्यकता परिपूर्तिको साथै आर्थिक सामाजिक तथा साँस्कृतिक रुपान्तरणका लागि समुदायको भरपर्दो माध्यमका रुपमा संस्थाले काम गर्दै आएको उनले जनाए । संस्थाले सदस्यहरुलाई सहकारी शिक्षा तथा तालिम प्रदान गरी सहकारीका बारेमा सचेतना जगाउनुकासाथै सामाजिक उत्तरदायित्व बहन समेत गर्दै आएको खनालको भनाई छ । सदस्यहरुको माग र आवश्यकता अनुसार संस्थाले विभिन्न क्षेत्रमा ऋण प्रवाह गर्दै आएको उनले जानकारी दिए । सभामा कोषाध्यक्ष कृष्णप्रसाद गौतमले आर्थिक वर्ष २०८०/८१ को आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै आर्थिक मन्दीका बीचमा पनि संस्थाको समग्र सूचांकहरुमा सुधार भएको उल्लेख गरेका छन् ।

संस्थाले गत असार मसान्तसम्म शेयर पुँजी छ दशमलव २५ प्रतिशतले वृद्धि गरी एक करोड ६१ लाख ८३ हजार, बचत संकलन २७ दशमलव ६५ प्रतिशतले वृद्धि गरी पाँच करोड ७० लाख ८७ हजार र ऋण लगानीमा पाँच प्रतिशतले वृद्धि गरी पाँच करोड ४६ लाख २४ हजार पु¥याएको जानकारी उनले दिए । संस्थाको जगेडा कोषमा ५४ लाख ४० हजार र अन्य कोषहरुमा १२ लाख १७ हजार रहेको छ । संस्थाले त्यस अवधिमा १० लाख ९१ हजार खुद बचत गर्न सफल भएको छ । संस्थाको कुल वासलात आठ करोड ४१ लाख ९१ हजार रुपैंयाँ पुगेको जानकारी पनि उनले दिए।

साधारण सभा उक्त सहकारीका सञ्चालक समिती अध्यक्ष सुदिप कुमार खनालले संस्थाको आर्थिक बर्ष २०७९⁄०८० को आयव्यय बिवरण सार्वजनिक गर्दे चालु आर्थिक बर्ष २०८०⁄०८१ को लागि बार्षिक नीति तथा कार्यक्रमहरु सार्वजनिक गरे । यस अन्र्तगत चालु आवमा संस्थाको नीति तथा कार्यविधी निर्माण तथा अध्यावधिक गर्ने, मापदण्डहरुको परिपालना गर्ने, नवीनतम प्रविधिको प्रयोग गर्ने, योजनाको समिक्षा गर्ने, गुणस्तरी सेवा प्रदान गर्ने, संस्थामा सुशासन कायम गर्ने, समिती उपसमितीको क्षमता बिकास गर्ने, संस्थाको पल्र्स स्तर कायम गर्ने, संस्थाको कार्यक्षेत्रभित्र सदस्यता बृद्धि गर्ने, तरलता व्यवस्थापन गर्ने, भाखा नाघेको ऋण असुली तथा ऋणको सुरक्षण गर्ने, बचत तथा ऋण सेवाको बिकास तथा अधावधिक गर्ने, सदस्य सन्तुष्टी सर्वेक्षण गर्ने, समयसापेक्ष व्याजदर निर्धारण गर्ने, सदस्यहरुको लागि सम्मान तथा प्रोत्साहन कार्यक्रम सञ्चालन गर्ने, प्रभावकारी कार्यालय व्यवस्थापनको लागि भौत्तिक संरचना निर्माण गर्ने, सामाजिक उत्तरदायित्वका कार्यहरुमा सञ्चालन गर्ने, कर्मचारीहरुका लागि प्रोत्साहन र क्षमता बिकास कार्यक्रमहरु सञ्चालन गर्ने, सहकारी ऐन, नियमको पुर्ण पालना गर्ने र सदस्यको सेवा सुविधा सम्वन्धी योजना तथा कार्यविधी निर्माण गर्ने सहितका २० बुंदे बार्षिक नीति तथा कार्यक्रमहरु सार्वजनिक गरेका छन्।

बार्षिक साधारण सभामा संंस्थाका कोषाध्यक्ष कृष्णप्रसाद गौतमले भने आव २०७९⁄०८० को संस्थाको वास्तविक पुँजी तथा दायित्व सम्वन्धी विवरण सार्वजनिक गर्दे चालु आर्थिक बर्षको अनुमानित पुँजी तथा दायित्व सम्वन्धी प्रतिवेदन पेस गरे । सो अनुसार आव २०७९⁄०८० मा संस्थाको सेयर पुँजी एक करोड ५२ लाख ३२ हजार तीन सय रुपैयाँलाई बृद्धि गरी चालु आवमा एक करोड ६५ लाख रुपैंयाँ पुर्याउने उनले बताए । यसैगरी गत आवमा ४९ लाख ३८ हजार चार सय ९२ रुपैंयाँ रहेको जगेडा कोषलाई चालु आवमा बृद्धि गरी ५४ लाख ४१ हजार चार सय ९२ रुपैंयाँ पुर्याउने, गत आवमा चार करोड ४७ लाख २१ हजार पाँच सय ४९ रुपैंयाँ रहेको बचत निक्षेपलाई चालु आवमा बृद्धि गरी पाँच करोड ३६ लाख रुपैंयाँ पुर्याउने लक्ष्य लिएको जानकारी दिए । आव २०७९⁄०८० संस्थाले व्याज आम्दानीबापत ६८ लाख ८८ हजार २८ रुपैंयाँ र अन्य आम्दानी वापत १६ लाख ८० हजार चार सय २० रुपैंयाँ समेत गरी कुल ८५ लाख ६८ हजार चार सय ४८ रुपैंयाँ आम्दानी गरेको जानकारी पनि कोषाध्यक्ष गौतमले दिए । संस्थाले आव २०७९⁄०८० मा चार करोड ४७ लाख २१ हजार पाँच सय ४९ रुपैंयाँ बचत संकलन गरी पाँच करोड २४ लाख ७८ हजार नौं सय ९० रुपैंयाँ ऋण लगानी गरेको भन्दै उनले आव २०७९⁄०८० मा संस्थाको नगद तथा बैंक मौज्दात गरी जम्मा एक करोड ५६ लाख दुई हजार आठ सय ७४ रुपैंयाँ रहेको र यो रकम कुल निक्षेप दायित्वको ३४ दशमलव ८८ प्रतिशत भएको बताए।

बिसं २०६८ सालमा स्थापना यो भएको यो सहकारी संस्थाले आक्रामकरुपमा बजार बिस्तार गर्दै आएको छ । अन्य सहकारीहरुको माझमा कुशल व्यवस्थापकीय क्षमता भएको सञ्चालन एवं व्यवस्थापन समिती, कर्मचारी संयन्त्र, आम बचतकर्ता एवं शेयर सदस्य सबैको साथ र सहयोगले नैं संस्थाले आजको दिनमा यो व्यवसायीक उचाई हाँसिल गर्न सफल भएको हो । संस्थाले हाल बचततर्फ कुटुम्ब मेरो बचत, कुटुम्ब सुनिश्चित भविष्य बचत, कुटम्ब समृद्धि बचत, कुटुम्ब सुपर बचत लगायतका बचत योजनाहरु सञ्चालन गर्दे आएको छ । यसैगरी ऋणतर्फ भने व्यवसायीक ऋण, धितो ऋण, हायर पर्चेज ऋण, छोटो अवधि ऋण र सदस्य सुविधा ऋण लगायतका योजनाहरु सञ्चालन गर्दे आएको छ।