आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

देउवा–थापाको लय, कोइरालालाई धक्का

बुधबार, असोज ९ २०८१

काठमाडौं । नेपाली कांग्रेसभित्रको राजनीतिक समीकरणमा नयाँ र अचम्मको समूह बन्ने र बनाउने उपक्रम नयाँ होइन। यहि उपक्रमको नयाँ समीकरण बन्ने दाबीहरूलाई सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाले थप पुष्टि गरिरहेका छन्।

पछिल्लो पटक सहकारी प्रकरणमा देउवाले रास्वपा सभापति रवि लामिछानेबारे महामन्त्री थापाले उठाएको प्रश्न जायज रहेको मात्र भनेनन् धन्यवाद पनि दिए।

त्यसअघि देउवाले आफू अब नेतृत्वबाट विश्राम लिने घोषणा गरेका थिए। अनि, थापाले पनि आगामी सरकारको नेतृत्व देउवाले नै सहमतिको आधारमा गर्ने बताइसकेका छन्।

यी संकेत थापा सभापतिको लाइनमा अगाडि बढ्न सहज बाटोमा छन् भन्ने हो।

कांग्रेसको एउटा कार्यक्रममा देउवाले विहीबार भनेका थिए,‘बुढो भएँ, भोली आउने नेताले सबै सम्हाल्नुपर्छ। चनुौति सम्हाल्न सिक्नुहोस्।’

यो भनाईको अर्थ हो आगामी महाधिवेशनमा सभापतिको रेशमा देउवा हुने छैनन्। कतिपयले विधान संशोधनको विषय पारित गरी तेस्रो कार्यकालका लागि देउवा तयार हुन सक्ने भन्ने संशयलाई उपर्युक्त भनाईले खण्डित गरेको छ।

‘उमेरका कारणले र अन्य कारणले अब मैले विश्राम लिनुपर्छ’, देउवाले यसो पनि भनेका थिए।

देउवाको यो भनाईसँगै आगामी १५औं महाधिवेशनमा सभापतिका निम्ति बाटो कोरिरहेका महामन्त्री गगन थापाको सपनाको एउटा जटिल बेरियर हटेको छ। अर्थात्, देउवा मैदानमा हुनेछैनन् भने संस्थापनको उत्तराधिकारी पनि तयार नहुँदै आएको बयानले थापाको तयारीमा सहयोग हुनेछ।
हुन त देउवा आफैं पनि थापासँग एउटा सहमति गरी संस्थापनको आधिकारिक सभापतिका उम्मेदवार बनाउने तयारीमा रहेको संकेत नमिलेको होइन। त्यो संकेत भनेकै गगन थापाको प्रस्ताव केन्द्रीय समितिमा पारित हुनु र अहिले सत्तारुढ काममा देउवाले थापालाई महत्वपूर्ण जिम्मेवारीमा अगाडि बढाउनू पनि हो।

तर यसबीचमा संस्थापनको उत्तराधिकारीका रुपमा पूर्वमहामन्त्री डा. शशांक कोइरालालाई सभापतिको उम्मेदवार बनाएर देउवा बढ्न सक्ने चर्चा भएका थिए।

‘राजनीतिमा यस्ता चर्चा स्वभाविक हुन्छन्। कसको पल्ला भारी छ र कहाँबाट लाभ हुन सक्छ भन्ने तुलना गर्न देउवालाई कसैले पनि बुझ्न सक्तैन’, कांग्रेसका एक केन्द्रीय सदस्य भन्छन्,‘कोइराला पक्षको मेरुदण्ड नै गगन थापा थिए। त्यो मेरुदण्डको उपयोग देउवाले गरे पनि कांग्रेस नेतृत्वमा कोइराला फ्याक्टर अझ केही समयसम्म उदाउन मुस्किल हुने नै छ।’

थापाले अहिलेदेखि नै ‘मिशन पिएम’ चलाइसकेका छन् भने त्यसका लागि कांग्रेसको संसदीय दलको नेता र सभापति हुन अनिवार्य आवश्यक हुन्छ। यसकारण महाधिवेशनमा सभापतिमा थापाको उम्मेदवारी रहने कुरामा कुनै पनि प्रकारको संशय नरहेको बताइन्छ।

थापा आफैंले पनि भनेका छन्,‘अब मसँग राजनीति गर्ने लामो समय छैन। यसकारण सभापतिमा लड्छु। संसदीय दलको नेता पनि बन्छु।’ राजनीतिक रुपमा कांग्रेसभित्रको सक्रियतालाई हेर्दा थापा नै चलायमान देखिन्छन्।

योसँगै कांग्रेस नेतृत्वमा रुपान्तरण खोजिरहेका महामन्त्री विश्वप्रकाश शर्मा र युवा नेता स्वास्थ्यमन्त्री प्रदीप पौडेलको साथ पनि गगन थापालाई हुने लगभग निश्चित छ।

देउवासँग नजिक भएका थापाका कारण शेखर कोइरालालाई राजनीतिक नोक्सानी हुने लगभग निश्चित छ। अहिले कोइराला समूहमा रहेका थापा संस्थापनतिर लम्किने मात्र होइन प्रतिस्पर्धामा नै उत्रिने स्थिति बनिरहेको छ। यसकारण कोइरालालाई आगामी महाधिवेशनमा सभापतिमा जित निकाल्न पनि सकस पर्ने विश्लेषण गरिएको छ।