आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

विद्यादेवी भण्डारी एमालेको नयाँ पिल्लर

मंगलबार, असोज ८ २०८१

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टी गठन भएपछि अध्यक्ष ओलीको एकल रजगज रहेको एमालेका नयाँ पिल्लरका रुपमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई स्थापित गराइन थालिएको छ।

ओलीसँग बिमति राख्ने र चेक एन्ड ब्यालेन्समा राख्न बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललगायत बालुवाटारसँग टाढिन थालेका नेताहरू भण्डारीलाई समानान्तर शक्तिका रुपमा स्थापित गराउने लयमा छन्।

एमालेको खास मानिने मदन भण्डारी फाउन्डेशनलाई पनि भण्डारीकै नेतृत्व दिएर जनताको बहुदलीय जनवादको वकालत सुरु भएको हो। सामान्यतयाः राष्ट्रपति भएपछि राजनीतिमा सक्रिय नहुने परम्परा रहे पनि भण्डारी एमालेको वकालत गरिरहेकी छन्।

भण्डारीलाई समानान्तर शक्तिका रुपमा स्थापित गराउनका लागि हाल ओलीबाट टाढा हुन थालेका नेता गोकुल बास्कोटालगायत समेत रहेको बताइन्छ।

भण्डारीले नेकपा एमाले आगामी निर्वाचनबाट मुलुकमा राष्ट्रिय निर्णायक शक्ति हुन अहिलेदेखि लाग्न जरुरी रहेको बताउँदै उनले २०८४ पछि निर्णायक शक्ति भएर राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभा अध्यक्ष सबै बनाएर मुलुकको अर्थतन्त्रलाई मजबुत बनाउन जरुरी रहेको राजनीतिक भाषण गरेकी छन्।

पूर्वराष्ट्रपति भण्डारीले आगामी निर्वाचनसम्म एमालेले फाउण्डेशनको अग्रसरतामा मुलुकभर जबजको माध्यमबाट अभियान चलाउन आग्रह गरिन्। ‘म नेकपा एमालेको सदस्य भएर नेपालको पहिलो महिला राष्ट्रपति भएँ। वाम आन्दोलनको तर्फबाट पनि हो। सबैले प्रमुख अथिति भनेर बोलाउनुपर्ने भएको छ। नेकपा एमालेले अर्को राष्ट्रपति नबनाएसम्म म आफैं सामाजिक फोरमहरुमा प्रमुख अथिति बन्नुपर्ने भयो’, उनले भनिन्। जबजको सिद्धान्तलाई मान्नेहरुले लामो समय मुलुकको नेतृत्वमा पुगे पनि भने जस्तो काम नभएको उनको भनाइ थियो।

भण्डारीको यो सक्रियतालाई एमालेमा नयाँ पिल्लर खडा हुन लागेको अवसरका रुपमा बुझ्न थालिएको छ। यो सूचना थाहा पाएरै पनि अध्यक्ष ओलीले भण्डारी राजनीतिमा नफर्कने बताएका थिए। एमालेको आन्तरिक बैठकमा नै ओलीको त्यस्तो टिप्पणीलाई पनि महत्वका साथ हेरिएको थियो।