काठमाडौं । वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी ब्रुनाई, क्रोएसिया लगायतका देशहरूमा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा ताप्लेजुङ फुङलिङ नगरपालिका–५ घर भई हाल काठमाडौं महानगरपालिका–३२ कोटेश्वर बस्ने २९ वर्षीय प्रज्ञान उप्रेती र मकवानपुर थाहा नगरपालिका–६ घर भई हाल काठमाडौं महानगरपालिका–१४ कलंकी बस्ने ३२ वर्षीय विश्वराज रूम्बा रहेका छन्।
पक्राउ मध्ये प्रज्ञानले १ जना पीडितबाट ५ लाख रूपैयाँ र विश्वराजले १ जना पीडितबाट २ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले प्रज्ञानलाई काठमाडौं कोटेश्वरबाट र विश्वराजलाई कलंकीबाट पक्राउ गरेको हो।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ।