काठमाडौँ । श्रीलंकाको नवनिर्वाचित राष्ट्रपतिमा वामपन्थी नेता अनुरा कुमारा दिसानायके शपथ लिएका छन् ।
नेशनल पिपुल्स पावर (एनपीपी) गठबन्धनका प्रमुख समेत रहेका ५५ बर्षिय दिसानायाकले सोमबार पद तथा गोपनियताको शपथ लिएको श्रीलंकाको मिडिया डेली मिररले उल्लेख गरेको छ ।
दिसानायाके श्रीलंकाको नवौं कार्यकारी राष्ट्रपति बनेका हुन् ।
शनिबार सम्पन्न मतदानपछि पहिलो चरणको मतगणनामा कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत ल्याउन सकेनन् । पहिलो राउण्डमा अनुरा दिसानायकेले ४२.३१ प्रतिशत र उनका प्रतिद्वन्द्वी सजित प्रेमदासाले ३२.७६ प्रतिशत मत प्राप्त गरे । यसै कारण निर्वाचन आयोगले दोस्रो चरणको मतगणना सुरु गरेपछि साँझ अनुरा दिसानायके श्रीलंकाको नवौं राष्ट्रपतिमा निर्वाचित भएकी हुन् ।
श्रीलंकाको इतिहासमा कुनै पनि उम्मेदवारले चुनाव जित्न आवश्यक पर्ने ५० प्रतिशतभन्दा बढी मत नपाएको यो पहिलो पटक हो, जसका कारण दोस्रो चरणको मतगणना गरिएको हो । विपक्षी नेता सजित प्रेमदासा दोस्रो र निवर्तमान राष्ट्रपति रनिल विक्रमासिंघे तेस्रो भएका थिए ।
श्रीलंकामा करिब दुई वर्षअघि आर्थिक अवस्था बिग्रिएपछि ठूलो प्रदर्शन भएको थियो। त्यसपछि शनिबार मुलुकमा पहिलो पटक राष्ट्रपति निर्वाचनको मतदान भएको छ ।