आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

आइतबार, भाद्र ३० २०८१

काठमाडौं । पाल्पाको तिनाउ गाउँपालिका–५ नयाँ जोरधारास्थित सडकमा बुटवलबाट पोखरातर्फ आउँदै गरेको लु.४८ प २६८७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शनिबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकलमा सवार स्याङ्जा चापाकोट नगरपालिका–९ बस्ने ५३ वर्षीय कृष्णक प्रसाद भट्टराईको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको लुम्बिनी मेडिकल कलेज प्रभाषमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

चितवनको भरतपुर महानगरपालिका–१ पानीट्याङ्की ओरालोस्थित सडकमा बा.प्र.०१–०२६ च ५५१९ नम्बरको योद्धा गाडीको ठक्करबाट साइकलयात्री सोही महानगरपालिका–१ रामनगर बस्ने ६४ वर्षीय राम थापाको शनिबार दिउँसो मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको भरतपुर सरकारी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । उक्त योद्धा गाडी ग.२ ख ८५५ नम्बरको बससँग ठक्कर खाई अनियन्त्रित भई साईकललाई ठक्कर दिएको हो । योद्धा गाडी र बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

बर्दियाको गेरूवा गाउँपालिका–४ खोन्पुरस्थित सडकमा भे.८ प ९१६१ नम्बरको मोटरसाइकल गोरूगाडासँग ठक्कर खाई शनिबार राती दुर्घटना हुँदा मोटरसाइकल चालक सोही गाउँपालिका–४ खोन्पुर बस्ने ३० वर्षीय सुरेश चौलागाईको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको प्राथमिक स्वास्थ्य केन्द्र राजापुरमा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार गाडा चालकको प्रहरीले खोजी गरिरहेको छ।

ताप्लेजुङको फक्तालुङ गाउँपालिका–३ खेसेवास्थित सडकमा ताप्लेजुङ सदरमुकामबाट फक्तालुङतर्फ जाँदै गरेको मे.१ ज १३६२ नम्बरको पिकअप सडकको माथिबाट आएको ढुङ्गाले लागि दुर्घटना हुँदा पिकअपमा सवार ताप्लेजुङ फक्तालुङ गाउँपालिका–३ तावा बस्ने २६ वर्षीया निर्मला गुरूङको शनिबार साँझ मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको जिल्ला अस्पताल ताप्लेजुङमा उपचारको क्रममा मृत्यु भएको हो । पिकअप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

सिराहाको धनगढीमाई नगरपालिका–१ बाखरस्थित सडकमा छपरारीबाट बाखरतर्फ जाँदै गरेको स.४ प ६०२० नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ६५ वर्षीया वरती देवी पासवानको शनिबार दिउँसो मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको बिराटनगरस्थित आरएन न्यूरो अस्पतालमा थप उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।