बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

निर्बल बन्नु हुँदैन पत्रकारको कलम

आइतबार, पुष १५ २०८०

कुनै समय असत्य कुरा पनि पत्रिकामा छापिएपछि पाठकलाई सत्य लाग्थे, कुनै कुनै त अदालतमा समेत दलिलका रुमपा पेश हुने गर्थे । तर, आज पत्रिकामा छापिएका सत्य समाचार पनि बुहसंख्यक पाठकलाई किन असत्य झैं लागिरेका छन् ? हरेक समाचारको सत्यतामाथि नै प्रश्न उठ्न थालेको छ । त्यसको कारण के होला ? यतिबेला आखिर सत्य झुट अनि असत्य चाहिँ सत्य किन भइरहेको छ ? पाठकहरुमा किन यति विघ्न निम्छरो हुँदै गएका छन् देशका मुलधारका भनिने सञ्चारगृह र प्रेसजगत ?

देशकै चौथो अंग मानिएको पत्रकारिता जगतमाथि प्रश्न उठ्नुपर्ने कारण धेरै हुनसक्छन् । पाठकलाई सत्यतथ्य सुसुचित गर्नु भन्दा अधिकांश सञ्चारगृहहरु मालिक मोटाउनेदेखि अकुत कमाउन केन्द्रित भएका कारण यसो हुन गएको आरोप लाग्ने गरेको छ । अझ केही राजनीति दल तथा नेताकै लगानीमा पनि सञ्चारगृह खोलिएको भन्ने पनि गरिन्छ । उनीहरुको जोडबल आफ्नालाई जोगाउने, गलत नै भएपनि जयजयकार गर्ने र विपक्षीलाई खेद्नमै केन्द्रित हुँदा समाचारको सत्यतामाथि नै प्रश्न उठ्नु स्वाभाविक हो ।

पहिले भन्दा अहिले सञ्चारगृहमा मालिक मोटाउने र श्रमजिवी पत्रकारको अवस्था दयनीय हुँदै जानुमा कतै न कतै माथि भनिएका कुरामा सत्यताको पुष्टि गर्छ । जसको उदाहरणका रुपमा पुराना नाम चलेका पत्रकारहरु रोजिरोटीको जोहोका लागि विदेश पलायन हुनु, मदभेदका कारण सञ्चारगृह छोड्नुलाई लिन सकिन्छ ।

साँच्चै मिडियाकर्मीमा पहिलेको भन्दा फरक प्रकारको चालचलन, व्यवहार र केही पत्रकारमा देखिएको अप्रत्यासित हाइफाइले ती आशंकामाथि अझ थप मलजल गर्छ ।

आज यहाँ एल्ड्रोइड मोबाइल बोक्ने अधिकांश आफूलाई पत्रकार ठान्छन् । जहाँ जे देख्यो, आफूले जे सुन्यो त्यही सामाजिक सञ्जालबाट पोष्ट्याई दिन्छन् । अनि त्यही कुरा सामाजिक सञ्जालमा हेरेर शहरदेखि दुरदराजका गाउँगाउँमा मानिसहरु त्यसैलाई समाचार भनेर पत्याईदिन्छन्, धारणा बनाउँछन्, जसले नेपाली समाज गलत सूचनाको पछि दगुर्न विवश छ ।

यसो हुनुमा यहाँ शीर्षक हेरेर धारणा बनाउने पाठक र कन्टेन्ट भन्दा शीर्षक खोज्ने पत्रकार दुबै समस्याका जड हुन् । भ्यूज् बटुल्ने, भाइरल हुने नाममा भए–नभएका कुरालाई सामाजिक सञ्जालमा राख्नाले पाठक गलत सूचनाको शिकार बन्छन् ।
हिजोका हरेक परिवर्तनका बाहककै रुपमा पहिचान बनाएका मिडिया जगत आज दिनानुँदिन अपत्यारिला, अविश्वसनीय हुँदै जानुमा मिडिया मालिक, सम्पादक वा पत्रकार कस्को बढी हात होला ? –२००७ साल, ०१७ साल, ०४६ हुँदै ०६२–६३ का परिवर्तनको संवाहककै परिचय बनाएको पत्रकारिता अनि केही पत्रकार आज दलको झोले, पार्टीको मुखपत्र, माफिया र गलत व्यापारीका खल्तीका पत्रकार जस्ता उपनामले बद्नाम भएका छन् । अनलाईन र टिभी भन्दा आज छापा तथा मेन इष्ट्रिमका मिडिया भनाउँदाले हिजोको त्यो स्वतन्त्र पत्रकारिताको जग भत्काइ दिएको आरोप लाग्ने गरेको छ ।
स्वतन्त्र पत्रकारिताका लागि ब्यवसायीक पत्रकारितालाई पनि सँगै लैजानु आवश्यक छ । कुनैपनि सञ्चारगृह ब्यवसायीक÷नाफामुलक भएन भने त्यहाँ स्वतन्त्र पत्रकारिता संभव छैन । आर्थिक अभाव, ब्यवसायीक दक्षताको कमीले पनि स्वतन्त्र पत्रकारिता हुन नसकेको पनि हुन सक्दछ ।

नेपालको संविधानले धारा १७ (२) (क) मा विचार र अभिव्यक्तिको स्वतन्त्रताको प्रत्याभूत गरेको छ । संविधानको धारा १९ ले आमसञ्चारकोे हकको प्रत्याभूति दिएको छ । साथै धारा १९ मा विद्युतीय प्रकाशन, प्रसारण तथा छापा लगायतका जुनसुकै माध्यमबाट कुनै समाचार, सम्पादकीय, लेख, रचना वा अन्य कुनै पाठ्य, श्रव्य, श्रव्यदृश्य सामग्रीको प्रकाशन तथा प्रसारण गर्न वा सूचना प्रवाह गर्न वा छाप्न पूर्व प्रतिबन्ध नलगाइने कुरा उल्लेख छ । तर व्यक्तिगत फाइदाका लागि केही सञ्चारगृहका मालिक र सम्पादकहरुले समाचार संकलकको भावना र घटनाको यथार्थता विपरित समाचारका महत्वपूर्ण लाइनहरु मेटिएका छन्, समाचार लुकाइएका कयौं घटना बाहिरिने गरेका छन् ।

कारण, अहिलेका केही सञ्चारगृह बदनाम हुनुमा दल, नेता, ठूला विज्ञापन दाता र ठूला घरानाको प्रभावमा छन् । जसले पत्रकारिता कै बद्नाम र अविश्वसनीयता बढाएका छन् । जसको मूल कारण निष्पक्षतामाथिको प्रश्न हो । निष्पक्षता भन्नु कोही वा कसैको समर्थन वा विरोधमा नरही गरिने व्यवहार हो । पीडक वा पीडित कुनै पनि पक्षको वकालत नगर्नु हो । घटना जे–जस्तो छ त्यसलाई त्यसैगरी जस्ताको त्यस्तै सञ्चारमाध्यमबाट प्रस्तुत गर्नु हो । तर आजकल प्रस्तुत कर्ताले घटनालाई तोडमोड र वास्तविकतानै बङ्याइ दिनाले यथार्थ नै हराउने गरेको छ ।

सूचनाको हक अन्तर्गत सञ्चारका जुनसुकै माध्यमबाट कुनैपनि प्रकारका समाचार, सम्पादकीय, लेख, रचना प्रकाशन तथा प्रसारण गर्न वा सूचना प्रवाह गर्न वा छाप्नुपूर्व प्रतिबन्ध नलगाउने प्रष्ट व्यवस्था छ । तर, अहिलेको परिप्रेक्षमा स्वतन्त्रपूर्वक कुनैपनि सञ्चार र पत्रकारले त्यो ब्यवस्थाको उपयोग गर्ने वातावरण बन्न सकेको छैन ।

पत्रकारिता पेशा हो, त्यही पेशा भित्र रहेर पत्रकारले कुनै पनि सञ्चार माध्यममा आवद्ध भएर समाचार संकलन गरेर सम्प्रेषन गर्नु उसको दायित्व हो । तर पछिल्लो समय कुनै दल, नेता अनि माफियाको खल्तीको पत्रकार झै गरेर केही व्यक्तिले समाचार सम्प्रेषण गर्दा पत्रकारिता नै बदनाम हुन पुगेको छ । भनिन्छ, पत्रकार भनेको त्यो व्यक्ति हो, जसले पत्रकारिताका शाश्वत मूल्य मान्यतालाई औपचारिक वा अनौपचारिक रूपमा पढेको वा बुझेको छ । पत्रकारिताका विभिन्न नीति नियमहरु अवलम्बन गरेको हुन्छ । आज त्यो मान्यता केवल मान्यतामा सीमित हुँदै गएको छ । आजकाल यहाँ मोटो रकमका लागि समाचार लुकाउनेदेखि कृतिम समाचार बनाउनेहरु हावी हुँदै गएका छन् ।

प्रेस स्वतन्त्रता भनेकोे कुनैपनि समाचार वा विषय वस्तु स्वतन्त्रतापूर्वक लेख्न, प्रकाशित गर्न गराउन पाउनु हो । स्वतन्त्र भएर कुनैपनि विधामा कसैको रोकटोक बिना पत्रकारले आफ्नो कलम चलाउन पाउनु नै प्रेस स्वतन्त्रता हो । तर, यहाँ आज मिडिया मालिक तथा सम्पादकको चाहना बमोजिम पत्रकारको कलमको निब भाचिन्छ वा उनीहरुको चाहना मुताबिक कन्टेन्ट लेख्न बाध्य पारिन्छ ।

हरेक देशको परिवर्तनलाई संस्थागत गर्ने आधारका रुपमा पत्रकारिता जगतको महत्वपूर्ण भूमिका हुन्छ । राज्यका हरेक अंगलाई खवरदारी गर्नेदेखि सही दिशामा दिशावोध गर्ने अहम् जिम्मेवारीमा आमसञ्चारलाई लिन सकिन्छ । मुख्य रूपले त्यो देशको राज्य प्रणालीमा भइरहेका हरेक घटना परिघटनाको वास्तविकता बाहिर ल्याउने र खवरदारी गर्ने काम स्वतन्त्र सञ्चारमाध्यमहरुले गरिरहेका हुन्छन् । नयाँ राजनैतिक प्रणालीका हरेक अवयवहरूलाई अग्रगामी दिशा दिन, समय र गतिका विविध दिशाहरूलाई विषयान्तर नगरीकन संप्रेषण गर्नु पत्रकारिताको दायित्वभित्र पर्छ । तर संप्रेषणका नाउँमा राष्ट्रियतामा खलल, साम्प्रदायिकता, राज्य विप्लब वा सम्प्रभुताको कुरामा सूचना खुलाउन हुँदैन । त्यसैले पत्रकारिता पेशा कुनै अधिरचनाभित्रको मर्यादा, जवाफदेहिता र उत्तरदायित्वसहितको पेशा हो  । पत्रकारिता उच्च नैतिकतासहितको आस्था, विश्वास र प्रतिबद्धतासँग चल्ने पेशका रुपमा लिइन्छ । तर यसलाई नाघेर गरिने पीतपत्रकारिताले नेपाली समाजमा पत्रकारिता जगत नै बदनाम मात्र होइन अविश्सनीय बन्दै गएको छ ।

स्वतन्त्र पत्रकारिताको अभ्यास हुन नसक्नुमा राज्यदेखि पत्रकारिता गर्ने पत्रकार पनि त्यत्तिकै जिम्मेवार छन् । पत्रकारिताका नाममा ब्यवसाय गर्ने र पार्टीकारिता गर्नेहरुका कारण पनि समग्र पत्रकारिता अविश्वसनीय बन्दै गएको छ । पत्रकारिताको खोल ओढेर पार्टीकारितादेखि पीतपत्रकारिता गर्ने कार्यलाई राज्यले निरुत्साहित गर्न सक्नुपर्दछ । जबसम्म एउटा पत्रकारको स्वतन्त्र पूर्वक कलम चल्दैन तवसम्म देशमा सुशासनको परिकल्पना नगरे हुन्छ । साथै एउटा पत्रकार समाचार लेखेरै आफ्नो र परिवारको जीवनयापन गर्नसक्ने बातावरण नबनेसम्म स्वतन्त्र पत्रकारिकताको सपना केवल सपनामा सीमित हुन्छ । देशमा सुशासन अमनचयन र भ्रष्टाचार विहिन समाजका लागि स्वतन्त्र पत्रकारितालाई ब्यवसायिक बनाउनु उतिकै महत्वपूर्ण हुन्छ ।