बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

मन्त्रीलाई कालो झन्डा देखाउँदा राज्यविप्लवको मुद्दा

आइतबार, भाद्र १७ २०७५

१७ भदौ, काठमाडौं–संघीय समाजवादी फोरमका अध्यक्ष एवं उपप्रधानमन्त्री उपेन्द्र यादव उपस्थित कार्यक्रममा कालो झन्डा देखाउँदै होहल्ला गरेको अभियोगमा पक्राउ परी ७ भदौदेखि प्रहरी हिरासतमा राखिएका युवा राममनोहर यादवको मृत्यु भएको छ । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

बिहीबार बर्दिया जिल्ला प्रहरी कार्यालयको हिरासतमै बेहोस भेटिएपछि उपचारका लागि निकालिएका राममनोहरको शनिबार बिहान शिक्षण अस्पताल महाराजगन्जमा मृत्यु भएको हो । २ दिनसम्म नेपालगन्जमा उपचार गर्दा स्वास्थ्यमा सुधार नभएपछि काठमाडौं ल्याइएका उनको उपचारकै क्रममा ज्यान गएको हो ।

बिहीबार बिहान ६ बजे हिरासतबाट जिल्ला अस्पताल पुर्याइएका उनलाई प्राथमिक उपचारपछि प्रहरीले दिउँसो नेपालगन्जस्थित भेरी अञ्चल अस्पताल लगेको थियो ।

अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा। प्रकाशबहादुर थापाले २४ घन्टा आइसियूमा राखेर उपचार गर्न निर्देशन दिए पनि अस्पतालमा आइसियू बेड खाली नभएपछि तत्काल नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल रेफर भयो । तर, शुक्रबार दिउँसोसम्म राममनोहरको स्वास्थ्यमा सुधार नआएपछि काठमाडौंको महाराजगन्जस्थित शिक्षण अस्पताल रेफर भयो ।

दिउँसै एकजना मेडिकल अफिसर, दुई प्रहरी र उनकी श्रीमतीसहितको टोलीको साथ लगाएर राममनोहरलाई बर्दिया प्रहरीले जहाजमा काठमाडौं पठायो । थप उपचारका लागि नेपालगन्जबाट जहाजमा काठमाडौं पठाएको बर्दिया प्रहरी प्रवक्ता डिएसपी दलबहादुर बोगटीले बताए ।

तर, उपचारकै क्रममा शिक्षण अस्पताल महाराजगन्जमा शनिबार बिहान करिब साढे २ बजे उनको मृत्यु भयो । ‘प्रहरीका तर्फबाट हरसम्भव प्रयास गरिएको हो, तर दुभाग्य बचाउन सकिएन,’ डिएसपी बोगटीले भने ।