आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

केपी शर्मा ओली

एमाले राज्यको ढुकुटीबाट एक पैसा खाँदैन, भारतीय मिडियाले भ्रम फैलाए

म मरेर बाँचेको मान्छे हुँ, मैले सम्पत्ति कमाएर थुपार्नु पर्ने कोही छैन

सोमबार, कार्तिक १३ २०८०

काठमाडौँ – पूर्व प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले कम्बोडियाको टेलिकममा तीन अर्ब लगानी गरेको भनेर भारतीय मिडियाले अनर्गल प्रचार गरेको भन्दै आक्रोश व्यक्त गरेका छन् । उक्त मिडियाले गल्ती मानेर उक्त भ्रमपूर्ण प्रचार हटाएको उनले प्रष्ट पारेका छन् ।

लिम्पियाधुरा र लिपुलेकसहितको नेपालको नक्सा जारी भएपछि नै भारतीयहरुले आफ्नोबारेमा जथाभावी अनर्गल प्रचार थालेको उनले बताए । ‘यथार्थ के हो भने, त्यो हाम्रो जमिन हो । हामीले हाम्रो नक्सामा सामेल गरेर छाप्यौँ । त्यसपछि भारतीय सञ्चारमाध्यमले तथानाम, जथाभावी बोल्न थाले । त्यसै सिलसिलामा उनीहरुले बोलेका अनेक अनर्गल कुराहरु, एउटा जी न्यूज भन्ने छ, त्यसले बोलेका अनेक अनर्गल कुराहरुमध्ये एउटा यो पनि थियो कि, कम्बोडियाको दूरसञ्चारमा केपी ओलीले तीन हजार करोड लगानी गरेको छ रे । त्यो पनि एउटा थियो’, ओलीले भने ।

सोमबार पोखरामा एमालेको गण्डकी प्रदेश कमिटीका नवनिर्वाचित पदाधिकारीहरुको शपथग्रहण कार्यक्रममा उपस्थित भएका ओलीले एमालेलाई बद्नाम गर्नका लागि मात्रै अनेकौँ हल्लाहरु चलाउने गरिएको बताएका हुन् । कम्बोडियाको टेलिकममा लगानी गरेको भनेर हल्ला फैलाउनुको कारण पनि एमालेलाई बद्नाम गर्नको लागि मात्रै रहेको उनले बताए । अध्यक्ष ओलीले आफूले कम्बोडियाको टेलिकममा लगानी गरेको प्रमाणित गर्न सार्वजनिक चुनौती समेत दिए । उनले प्रमाणित गर्नेलाई पुरस्कारको पनि घोषणा गरेका छन् ।

‘कम्बोडियामा ३ हजार करोड मैले राखेको छु भने धेरै नाफा हुने बिजनेस दिन्छु । देशको यत्रो पैसा लुकाएको रहेछु भने पत्ता लगाउनुस्,’ उनले भने,‘ धेरै त छैन एक हजार रुपैयाँ थपेर सबै दिन्छु । एक हजार रुपैयाँ बक्सिस भयो, अरु ३ हजार करोड सबै भयो ।’ कुनै समय ओली निकट मानिने एमाले पूर्व केन्द्रीय सदस्य दुर्गा प्रसाईंले केही दिनअघि केपी ओलीमाथि कम्बोडियाको टेलिकममा ३ हजार करोड लगानी गरेको आरोप लगाएका थिए ।

‘मुख सबैको हुन्छ तर के खाने के नखाने भन्ने हुन्छ । राज्यको ढुकुटीबाट एक पैसा खाँदैन एमाले, केपी ओली भ्रष्ट छ भनेपछि नेकपा एमालेको नेतृत्व भष्टाचारी हुन सक्दैन,’ उनले भने, ‘म मरेर बाँचेको मान्छे हुँ । मैले सम्पत्ति कमाएर थुपार्नु पर्ने कोही छैन । मेरी श्रीमतीले आफ्नो सम्पत्ति राज्यलाई दिएका छौं । मैले भ्रष्टाचार गरेर, अपराध गरेर सन्तानलाई हुर्काउन पर्छ भन्ने पनि छैन । भगवानका कृपाले मेरा छोराछोरी छैनन् ।’