काठमाडौं- सिरहाको धनगढीमाई नगरपालिका–१३ बाबुराम खोलाबाट अवैध लागूऔषध गाँजा करिब १३ केजीसहित सोही नगरपालिका–१४ बस्ने ५० वर्षीय पदम बहादुर बिश्वकर्मालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय बिष्णुपुरकट्टिबाट खटिएको गस्ती टोलीले उनलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।
कञ्चनपुरको बेलौरी नगरपालिका–६ बैसाखा पुलस्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ २ ग्राम ३५ मिलिग्रामसहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बेलौरी नगरपालिका–६ ढक्काचाँदर बस्ने २५ वर्षीय उत्तम बुडाल र २८ वर्षीय महेन्द्र बुडाल रहेका छन् । ईलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको से.६ प ४३२७ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
बाँकेको नेपालगंज उपमहानगरपालिका–१ धम्बोझीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ३ सय मिलिग्रामसहित ३ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २१ वर्षीय बिनोद तामाङ, २१ वर्षीया निलु वली र रूकुम मुसीकोट नगरपालिका–१ घर भई हाल बाँके नेपालगंज उपमहानगरपालिका–१८ बस्ने २१ वर्षीया लक्ष्मी बुढा मगर रहेका छन् । जिल्ला प्रहरी कार्यालय बाँके र प्रहरी बिट बुशालनगरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।