आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

एनआरएनए निर्वाचन: एमालेका केसीले जित्दा संकटमा प्रचण्ड

शुक्रबार, कार्तिक ३ २०८०

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११ औँ विश्वसम्मेलनको समापन समारोहमा सहभागी नहुने भएका छन् । अध्यक्षका उम्मेदवार माओवादी निकट राजेन्द्रकुमार शर्मा र कांग्रेस निकट अध्यक्षका उम्मेदवार महेश श्रेष्ठको दबाबपछि प्रधानमन्त्री दाहालले पूर्वनिर्धारित कार्यक्रम रद्द गरेका हुन् ।

काठमाडौं सोल्टी होटमा आयोजित ११औं विश्व सम्मेलनअन्तर्गत बिहीबारको प्रत्यक्ष तथा अनलाइन मतदानबाट अन्य दुई प्रतिस्पर्धीलाई हराउँदै डा. बद्री केसीले जित हात पारेका थिए । उनी एमाले निकट हुन् ।

असोज ३० गते राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गरेको विश्व सम्मेलनको समापन प्रधानमन्त्रीले गर्नेगरी एनआरएनएले कार्यतालिका बनाएको थियो । पराजित भएपछि शर्मा र श्रेष्ठले प्रधानमन्त्रीलाई भेट्न प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका थिए । उनीहरुले निर्वाचन परिणामलाई मान्यता नदिन र पुनः निर्वाचन प्रक्रिया थाल्न परराष्ट्र मन्त्रालयलाई निर्देशन दिन आग्रह गरेका थिए ।

अध्यक्षका उम्मेदवार शर्मा प्रधानमन्त्री दाहाल निकट हुन् । प्रधानमन्त्री दाहालले नै ग्रीन सिग्नल दिएपछि उनी उम्मेदवार बनेका थिए । पराजित भएपछि उनीहरुले डा.केसी समूहले सिस्टम ह्याक गरेर आफ्नो पक्षमा नतिजा पारेको आरोप लगाएका छन् । प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले एनआरएनएभित्रको पछिल्लो विवादका कारण प्रधानमन्त्री नजाने निश्चित भएको बताए ।

निर्वाचन समितिका अनुसार केसी १३७८ भोट ल्याएर विजयी हुँदा निकटतम प्रतिस्पर्धी आरके शर्मा र महेश श्रेष्ठ पराजित भए । शर्माले १२८१, श्रेष्ठले १२२५ मत प्राप्त गरेका छन् ।

महेश कांग्रेसनिकट हुन् । उनी एनआरएनएको निवर्तमान उपाध्यक्ष थिए । कांग्रेसबाट डा. केशव पौडेल पनि अध्यक्षका आकांक्षी थिए । तर, पार्टीका नेताहरुले उनलाई थामथुम गरेर श्रेष्ठलाई अघि सारेका हुन् ।

अर्का प्रत्यासी शर्मालाई माओवादीको आशिर्वाद छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नै ग्रीन सिग्नल दिएपछि उनी उम्मेदवार बनेका थिए । उनी पनि निवर्तमान उपाध्यक्ष हुन् ।