आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

स्वास्थ्यमन्त्री बस्नेतको जालझेल, ‘स्टन्ट’ र प्रचारवाजी मोह

मंगलबार, असोज ३० २०८०

काठमाडौं । वर्तमान स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत ‘स्टन्ट’ मा रमाउन चाहाने मन्त्रीका रुपमा चिनिन्छन् । स्वास्थ्य क्षेत्रका महत्त्वपूर्ण विषय ओझेल पारेर उनी विशेषत: मिडियाबाजी र स्टन्टमा रमाउन रुचि राख्ने उनका दर्जनौं उदाहरण छन् ।

२२ वर्ष पहिला स्वास्थ्य राज्यमन्त्रीको स्वाद चाखेका मन्त्री बस्नेतले सोही मन्त्रालय रोज्नुका पछाडि धेरै कारण रहेको उनी मन्त्री बन्दै गरेकाे बेला चर्चा भएकाे थियो । कमाउ धन्दा र प्रचारबाजीमा सहज हुने भएकैले बस्नेतले स्वास्थ्य मन्त्रालय रोजेका थिए । नभन्दै मन्त्री बस्नेतका पछिल्ला गतिविधि र ‘स्टन्ट’ ले सो कुरा पुष्टि गर्दै गएको छ ।

पदभार ग्रहणपछि स्वास्थ्यमन्त्री बस्नेतले कोभिड, डेंगू र अन्य सरुवा रोग फैलिन नदिन दातृ निकाय, संघसंस्थाको साझेदारी र लगानीमा स्वास्थ्योपचार विशेष कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेका थिए । उनका ती निर्णयको कार्यन्वयन एकातिर छ तर यतिबेला कार्तिक लाग्दा समेत डेंगूका कारण दर्जनौं ज्यान गुमाउन विवस छन् भने जिवित हायलकायल छन् ।

स्वास्थ्यमन्त्री भएपछि बस्नेतले मन्त्रालय सुधारको प्रयास गरेको देखाउन खोजेका छन् । तर मन्त्रालय सुधार भन्दा पनि निकटहरूलाई व्यवस्थापनमा मन्त्रीले नियम पनि बिर्सेर काम गरिरहेको भन्दै मन्त्रालयका उच्च तहका कर्मचारीहरूको असन्तुष्टि चुलिँदो छ ।

स्वास्थ्य क्षेत्रका वेथिति झन् झन् बढेर गएका छन् । कहिले चिकित्सक जिउधनको सुरक्षाको माग गर्दै सडमा आन्दोलित हुनुपरेको छ त कहिले डाक्टर र अस्पतालको लापरवाहीले सर्वसाधारणले आन्दोलन गर्नु परेको छ । स्वास्थ्य क्षेत्रको कार्यकारी नेतृत्वको भूमिकामा रहेको स्वास्थ्य मन्त्रालयको उपलब्धि उत्साहजनक देखिनु त कता हो कता स्वास्थ्यकर्मीदेखि सेवाग्राहीसमेत आन्दोलित हुन वाध्य छन् ।

स्वास्थ्यमन्त्री भएपछि बस्नेतले ‘उपचार खर्च अभाव हुँदैमा कोही नागरिक मर्नु पर्दैन’ भनेका थिए । तर, हरेक दिन गरिव नेपालीले आर्थिक अभावमा मात्र हाेइन अस्पतालकाे पहुँच बाहिर भएकै कारण पनि ज्यान गुमाउनु परेको यथार्थ हामीसामु अझ बढेर गएको छ ।

काम भन्दा प्रचार मोहमा रमाउने बस्नेत आफू मन्त्री भएको सय दिनलाई दिवसकै रुपमा मनाए । उनले उपत्यकाको स्वास्थ्य सेवा नै प्रभावित हुने गरी स्वास्थ्यकर्मिलाई  सेतो कोट लगाएर अनिवार्य उपस्थित हुन उर्दी समेत गराएका थिए । मन्त्रालयले सम्पूर्ण कर्मचारीलाई अनिवार्य उपस्थितिको लागि निर्देशन नै दिएकाे थियाे । उक्त कार्यक्रममा प्रधानमन्त्रीको प्रशंसा गरेका उनले प्रधानमन्त्रीबाट पनि प्रशंसा बटुलेका थिए ।

त्यत्रिमात्र कहाँ हो र सोही दिन उनले ६ महीनाभित्रै स्वास्थ्यमा जनताले ठूलो परिवर्तन देख्ने दाबी समेत गरेका थिए । तर, केही दिन अघि मात्र व्यवस्थापकीय कमजोरीका कारण कान्ति बाल अस्पतालमा एक बालिकाको अकाल मृत्यु भएको खवर सार्वजनिक भएको थियो । पाँच वर्षीया बालिका रेजिशा गोपालीले अस्पतालको कमजोरी कै कारण ज्यान गुमाउनु पर्यो ।

विदेश शयरमा रमाउन चाहने मन्त्री बस्नेत कहिले अस्पतालमा फ्री बेडको स्टन्ट चलाएर त कहिले सुपरिवेक्षणका नाममा चर्चा कमाइ रहन चाहन्छन् । स्वास्थ्यमन्त्री बस्नेतले पछिल्लो डेढ महिनामै भारत र इजिप्टको भ्रमण गरिसकेका छन् । कर्मचारीहरूको विदेश भ्रमणमा कडाइ गर्ने योजना अघि सारेका मन्त्री बस्नेत भने आफैं विदेश भ्रमणमा रमाउने गरेको मन्त्रालयका कर्मचारीले नै बताउँदै आएका छन् ।

गत जेठ महिनामा मात्रै मन्त्री बस्नेत ६ सदस्यीय टोलीसहित स्विट्जरल्यान्डको जेनेभा गएका थिए।

 

अरु त अरु स्वास्थ्य मन्त्रालयका अधिकारीहरू पनि मन्त्री बस्नेत कामभन्दा प्रचारमा बढी रमाउने गरेको बताउँछन् । मन्त्रालयका एक कर्मचारीले भने, “उहाँ नीतिगत काम गरेर दीर्घकालीन रूपमा प्रभाव पार्नेभन्दा तत्काल हल्लाखल्ला हुने काम गर्न मन पराउने स्वभावको हुनुहुन्छ।”

जसको उदाहरण दिँदै उनी भन्छन्, हस्तान्तरण भइसकेको शववाहन फेरि हस्तान्तरण गरेको प्रसङ्गले त्यको पुष्ट्याइँ गर्दैन र ?

उनका अनुसार बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले प्रदेश अन्तर्गतका अस्पतालका लागि किनेको सात वटा शववाहनको हो। साउन १४ मा बागमती प्रदेशका स्वास्थ्य मन्त्री उत्तम जोशीले हेटौंडामै उक्त शववाहनहरू सात वटा प्रदेश अस्पताल विकास समितिका अध्यक्ष र मेडिकल सुपरिटेन्डेन्टहरूलाई हस्तान्तरण गरेका थिए।

मन्त्री बस्नेतले देशको आर्थिक अवस्था पनि विकराल रहेको र तलब खुवाउन नसक्ने भन्दै वीर अस्पतालका स्वास्थ्यकर्मी र करारका कर्मचारी गरी २७६ जनालाई हटाएका थिए ।

तर, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) को सिनेट बैठक बसाएर मन्त्री बस्नेतले वीर अस्पतालमा नर्स र पारामेडिक्सका गरी ६३ वटा दरबन्दी थप गराएका छन् ।

आइतबार बस्नेतको अध्यक्षतामा बसेको सिनेट बैठकले ६३ दरबन्दी थप गरी तत्काल करारमा कर्मचारी राख्ने निर्णय समेत गरेको हो ।
बैठकले थेरापीका लागि एक जना अडियोलोजिष्ट, रेडियोग्राफर पाँच जना, एनेस्थेसिया सहायक पाँच जना, ल्याब टेक्निसियन पाँच जनाको दरबन्दी स्वीकृत गरेको छ । यस्तै केही फार्मेसी सहायक, ३० जना स्टाफ नर्ससहित इलेक्ट्रिसियन, प्लम्बर, चालक, सहायक गरी १० जनाको दरबन्दी पनि स्वीकृत गरेको छ ।

स्वास्थ्यकर्मी र करारका कर्मचारी गरी २७६ जना हटाएको केही दिन भित्रै मन्त्रीकै संलग्नतामा थप कर्मचारी थप गर्ने निर्णय भएको छ । कोभिड–१९ को बेला कोभिड प्रयोजनमा नियुक्त गरिएका कर्मचारीहरुलाई तलब दिन नसक्ने भन्दै निकाल्न बाध्य भएको बताएका मन्त्री बस्नेतलाई तत्कालै नयाँ कर्मचारीलाई दिनसक्ने पैसा कहाँबाट आयो ?

स्वास्थ्य तथा जनसंख्यामन्त्री बस्नेतको निर्देशनमा गत १५ असोजमा बसेको कार्यकारी परिषद्ले १८५ जना नर्ससहित २७६ जना कर्मचारीलाई २१ असोजबाट लागू हुने गरी हटाएको थियो । त्यो बेला करार जनशक्तिलाई हटाएर आफ्नो मान्छे भर्ति गर्न स्वास्थ्यमन्त्रीलाई आरोप समेत लागेको थियो । नभन्दै अहिले सो आरोप प्रमाणित हुँदै गएको छ ।

मन्त्री बस्नेतले यतिबेला चिकित्सा शिक्षा ऐन संशोधन नभई स्वास्थ्य क्षेत्रमा आमूल परिवर्तन नहुने बताउँदै आएका छन् । त्यतिमात्र होइन ऐन संशोधन नभए अबको पाँच वर्षमा नेपाल डाक्टर विहीन हुने समेत बताउँदै आएका छन् । उनको यो भनाइ पनि स्वार्थ केन्द्रित रहेको भन्दै आलोचना पनि भएको छ ।

चिकित्सा शिक्षा ऐन संशोधनको अभावमा ‘नेपालमा डाक्टर र नर्सिङ पढ्न पाएनन्, विदेश जानुप-यो’ भन्ने अभिव्यक्ति भ्रामक रहेको भन्दै चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले आन्दोलन नै गर्ने बताएका छन् ।