काठमाडा । कोशीमा मुख्यमन्त्रीमा कांग्रेस संस्थापन इतरको विद्रोहले यतिबेला प्रधानमन्त्री प्रचण्डको कुर्सी हल्लिएको छ ।
कम्पनकै बीच हतार हतार प्रधानमन्त्री प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवा र कांग्रेस विद्रोही समूहका नेता डा. शेखर कोइरालालाई समेत सहभागी गराएर एउटा चिर्कटोमा कबुलियत गराए । त्यतिमात्र कहाँ हो सत्ता गठबन्धनमा कुनै विवाद छैन भन्ने सन्देश दिन प्रधानमन्त्री प्रचण्डले तीन नेताको सहीछाप भएको उक्त चिर्कटो आफ्नै सचिवालय मार्फत सार्वजनिक समेत गराए ।
कोशीका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीलाई माओवादी केन्द्रको समेत समर्थन रहेको जनाउँदै प्रचण्डले प्रधानमन्त्री पद जोगाउन कांग्रेसका दुई नेतालाई बोलाएर यस्तो सहमति गरेका हुन् । गठबन्धनमा देखिएको विवादलाई सेटलमेन्ट गरेको बताएपनि उनको खिन्न मुद्रामा प्रधानमन्त्रीको कुर्सी हल्लिन थालेको प्रष्ट हुन्थ्यो ।
तर विद्रोहकाे झिल्लो विस्तारै सल्किएर डढेलोको रुप लिन छाँटकाट देखिन थालेको छ । आफ्नो मात्र होइन हरेक दलसँग खेल्न सक्ने प्रचण्डलाई भने यसपाली कांग्रेस नेता शेखर कोइरालाले नराम्ररी खेलाइ दिएका छन् । यसको अन्तर्यमा प्रचण्डभन्दा आफ्नै सभापति देउवाको कार्यशैलीका कारण कोइराला यो अवस्थामा पुगेका हुन् ।
सत्तारुढ दल कांग्रेसका सांसदका पछिल्ला अभिव्यक्ति त्यसको परिणामत कोशीको झट्काले माओवादी केन्द्रको नेतृत्वमा बनेको संघीय गठबन्धन सरकार १० महिना पुग्दानपुग्दै परिवर्तन हुने स्थितिमा पुगेको स्पष्ट देखिन्छ ।
कांग्रेसभित्र पनि प्रचण्डकै शासन चल्न थालेपछि कांग्रेसभित्रका प्रतिपक्षी नेता शेखर कोइरालाले विद्रोह गरेका हुन् । कबुलियतको चिर्कटोमा सहिछाप गरेपनि उनले कोशीबाट थालेको विद्रोह विस्तारै अन्य प्रदेश र केन्द्रसम्म पुग्न अब कसैले रोक्न नसक्ने राजनीतिका जानकारहरु बताउन थालेका छन् ।
कोशीको पछिल्लो सन्देशले कांग्रेस र माओवादीका रणनीतिकारलाई नराम्रो झापड दिएको छ । यसले वर्तमान गठबन्धनलाई कुनै पनि बेला एमालेको इच्छाअनुसार भत्काउन सक्ने सन्देश पनि दिएको छ ।
नवनियुक्त मुख्यमन्त्री कार्की काठमाडौंमा
प्रदेश प्रमुखबाट मुख्यमन्त्रीको नियुक्ति पाएपछि केदार कार्की सोही दिन काठमाडौं आएका छन् । उनी शनिबार नै शेखर कोइराला निवास पुगेका थिए ।
मुख्यमन्त्री कार्कीले आइतबार पद तथा गोपनीयताको शपथ लिँदैछन्। शपथ लिनुअघि उनी नेताहरू भेट्न काठमाडौं आएका हुन्।
काठमाडौं आएर कार्कीले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेका छन् । ओलीलाई भेट्न कार्की आज बिहान बालकोट पुगेका थिए ।
कार्की ओलीलाई भेट्न पुगेपछि सत्ता गठबन्धन चकित परेको छ । उसलाई कार्कीले राम्रैसँग झड्का समेत दिएका छन् ।
आफ्नो शपथ ग्रहण अघि नै मुख्यमन्त्री कार्की ओलीलाई भेट्न पुगेका छन् । आज बिहान बालकोट पुगेर कार्कीले मुख्य मन्त्री बन्न सहयोग गरेको, मुलुकमा सहकार्य र संस्कृतिको नयाँ युग सुरु गर्न प्रयास गरेको, कांग्रेसलाई माओवादीको चंगुलबाट मुक्त गर्ने आफ्नो अभियानलाई साथ दिएको भन्दै ओलीलाई धन्यवाद समेत दिएको बताइएको छ ।