विराटनगर । एमाले र कांग्रेसका ८ प्रदेश सभा सदस्यको समर्थनमा कोशीको मुख्यमन्त्री बनेका केदार कार्कीले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्दैछन् ।
कार्कीलाई पद तथा गोपनीयताको शपथका लागि प्रदेश प्रमुख पर्शुराम खापुङले दिउँसो २ बजे समय दिएका छन् ।
कार्की शनिबार मुख्यमन्त्री नियुक्त भएका थिए ।
मुख्यमन्त्री कार्कीले आजै आफूलाई सहयोग गर्ने नेकपा एमाले र कांग्रेस विद्रोही समूहलाई समेटेर मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् ।
कार्कीले आज कांग्रेसबाट विद्रोह गरेका एक जना र एमालेबाट १ जनालाई मन्त्री नियुक्त गर्ने तयारी गरेका छन् ।
शनिबार बिहान ४७ जना सांसदहरूको हस्ताक्षर सनाखतपछि प्रदेश प्रमुख पर्शुराम खापुङले कार्कीलाई मुख्यमन्त्री नियुक्त गरेका थिए । उनलाई मुख्यमन्त्री बनाउन एमालेका ३९ र कांग्रेसको शेखर कोइराला पक्षका आठ गरी ४७ जना सांसहरूले हस्ताक्षर गरेका थिए ।
संविधानको धारा १६८ (५) अनुसार मुख्यमन्त्री बनेका कार्कीले अबको एक महिनामा प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने छ ।