आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

कस्तो छ आजको मौसम पूर्वानुमान ?

आइतबार, असोज २८ २०८०

काठमाडौं । बागमती र मधेश प्रदेशको धेरैजसो भूभागबाट यस वर्षको मनसुन बाहिरिएको छ ।

यसअघि सुदूरपश्चिम र कर्णाली प्रदेशबाट बाहिरिसकेको मनसुन शनिबारदेखि गण्डकी र लुम्बिनी प्रदेशका सबै भूभाग तथा बागमती र मधेश प्रदेशका धेरैजसो भूभागबाट बाहिरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

नेपालका बाँकी भूभागबाट केही दिनमा मनसुन बाहिरिने सम्भावना रहेको महाशाखाको भनाइ छ । मनसुन बाहिरिने क्रममा रहेको भए पनि पश्चिमी वायुको प्रभावका कारण सोमबारदेखि बुधबारसम्म नेपालमा सामान्यदेखि मध्यम वर्षाको सम्भावना छ ।

आज रातिदेखि पश्चिमी वायुको एक प्रणाली आउने भएकाले छिटफुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ । पूर्वबाट मनसुन बाहिरन अझै केही दिन लाग्ने भएकाले बुधबार पछिबाट मात्रै मौसममा सुधार हुनेछ ।

नेपालको पूर्वी भूभागमा मात्रै मनसुनी वायुको आंशिक प्रभाव कायम छ । सामान्यतया अक्टोबर २ तारिखमा नेपालबाट मनसुन बाहिरी सक्नुपर्ने भए पनि अझै मनसुन नेपालबाट पूर्ण रूपमा बाहिरिसकेको छैन । पानी नपरेका कारण वायुमा प्रदूषण र कणहरू बसेकाले दिउँसोपख आकाश खुले पनि बिहान–बेलुका धुम्म हुने मौसमविद् गोविन्द झाको भनाइ छ ।

अहिले बिहान देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहेको छ । आज दिउँसो देशका पहाडी भूभागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । आज राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।