आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

कांग्रेसबाट विद्रोह गरेका कार्की बने कोशी प्रदेशको मुख्यमन्त्री

शनिबार, असोज २७ २०८०

विराटनगर । कोशी प्रदेशको मुख्यमन्त्रीमा केदार कार्की नियुक्त भएका छन् ।

प्रदेश प्रमुखको कार्यालयमा भएको सनाखतका क्रममा उनले बहुमत जुटाएका हुन् । कार्कीको पक्षमा ४७ जना सांसदले हस्ताक्षर गरेका छन्, जुन बहुमत हो ।

प्रदेश प्रमुख परशुराम खापुङले कार्कीलाई समर्थन गरेका सांसदहरूको सनाखतलगत्तै उनलाई मुख्यमन्त्रीमा नियुक्त गरेको घोषणा गरेका हुन् ।

तर, आङबो पक्षका समर्थक सनाखतका लागि उपस्थित भएनन् । सनाखतमा बहुमत पुष्टि भएसँगै प्रदेश प्रमुखले कार्कीलाई संविधानको धारा १६८(५) बमोजिम मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

नवनियुक्त मुख्यमन्त्री कार्कीले संविधानत अब एक महिना भित्र विश्वासको मत लिनुपर्ने हुन्छ ।

कांग्रेस संस्थापन पक्षले माओवादी केन्द्रका आङ्बोलाई मुख्यमन्त्रीमा समर्थन गर्ने निर्णय गरे पनि शेखर कोइराला पक्षका कार्कीले एमालेसँग मिलेर आफ्नो दाबी पेस गरेका थिए । पार्टीमा विद्रोह गरेका कार्की नै मुख्यमन्त्री नियुक्त भएका छन् ।

कांग्रेसका ८ र एमालेका उप सभामुखसहित ४० सदस्यले केदारलाई मुख्यमन्त्री बनाउन हस्ताक्षर गरेका थिए ।