काठमाडौं । भेपमा लुकाएर ९ किलो सुन तस्करी गरेको प्रकरणमा पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुल महरासहित चार जनाविरुद्ध मुद्दा दायर भएको छ ।
बुधबार सरकारी वकिल कार्यालय काठमाडौंले ९ किलो सुन तस्करी प्रकरणमा राहुलसहित चार जनाविरुद्ध मुद्दा दायर गरेको हो । राहुलसँगै बेल्जियन नागरिक ३९ वर्षीय दावा छिरिङ, सर्लाही घर भई काठमाडौंको नागार्जुन नगरपालिका-४, सितापाइला बस्ने ३९ वर्षीय लोकेन्द्रकुमार पौडेल र काठमाडौं महानगरपालिका-६, बौद्धका ५७ वर्षीय निमा गुरुङविरुद्ध मुद्दा दायर गरेको जिल्ला न्यायाधिवक्ता बासुदेव शर्माले जानकारी दिए । मुद्दा दायर गरिएका निममा भने अझै फरार छन् ।
१० पुसमा फ्लाइ दुबईबाट काठमाडौं आएका चिनियाँ नागरिक ली हाङसनले ल्याएको ७३० वटा भेपभित्र ९ किलो सुन बरामद भएको थियो ।
गत भदौ ३१ गते राहुललाई सीआईबीले पक्राउ गरेर अनुसन्धान गरेको थियो। संगठित कसुरमा अनुसन्धान सकेर फाइल सरकारी वकिल कार्यालयमा सीआईबीले बुझाएको थियो।
उनीहरूविरूद्ध आपराधिक विश्वासघात, भन्सार चोरी पैठारी तथा संगठित अपराधसम्बन्धी कसुरमा मुद्दा दायर भएको हो।
यो प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पूर्वसभामुख कृष्णबहादुर महराको बयान पनि लिएको थियो ।
अभियोग पत्र