कैलाली । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई जनताप्रति उत्तरदायी नभएको टिप्पणी गरेका छन् ।
सुदूरपश्चिम प्रदेश अधिवेशनको उद्घाटन समारोहमा अध्यक्ष ओलीले देश र जनतालाई आशा जगाउने बेलामा प्रधानमन्त्री तीर्थ भ्रमणमा केन्द्रित भएको आरोप लगाए ।
जनताले अहिले देशमा सरकार छ कि छैन भन्दै खोजिरहेका बेला प्रचण्डभने धार्मिक यात्रा गरिरहेको बताए ।
उनले जनतालाई माया नगरेपछि, देशलाई माया नगरेपछि चन्दन लगाएर गेरुवस्त्र लगाए पनि पाप नकट्ने बताए । उनले मानसरोवरमा डुबुल्की लगाए पनि प्रचण्डको पाप नकट्ने बताए ।
ओलीले वर्तमान सरकारबाट देशको रक्षा हुनसक्ने अवस्था नरहेको समेत बताए । एमाले नेतृत्वको सरकारपछि अर्थतन्त्र झन् ओरालो लागेको ओलीको आरोप लगाए । एमालेले सरकार छाडेपछि अर्थतन्त्र ओरालो र हिंसा बढिरहेको बताउँदै ओलीले ७ प्रतिशतभन्दा माथि पु¥याइएको अर्थतन्त्र गठबन्धनले २ प्रतिशतभन्दा तल झारिसकेको बताए ।
सुदूरपश्चिम प्रदेश विकासका दृष्टिकोणले पछाडि परेको भन्दै ओलीले प्रदेशलाई आधुनिक, विकसित र समृद्ध बनाउन चाहेको बताए । प्रदेश अधिवेशनमार्फत आउने नयाँ नेतृत्वबाट सुदूरपश्चिम प्रदेशमा रहेका समस्याहरू हल गर्न सक्नु पर्ने ओलीको भनाइ थियो ।