शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

सर्पपालन अनुदानमा १७ करोड ९८ लाख हिनामिना, झलनाथ खनालको प्रतिष्ठानलाई मुद्दा दायर

आइतबार, असोज २१ २०८०

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा प्रदेश नं २ (हाल मधेश प्रदेश), आर्थिक मामिला तथा योजना मन्त्रालयका तत्कालीन मन्त्री विजय कुमार, तत्कालीन सचिव प्रेम कुमार श्रेष्ठ र सर्लाहीको लालबन्दी नगरपालिकाका तत्कालीन नगर प्रमुख मान बहादुर खड्कासमेत ७ जनाविरुद्ध मुद्दा दायर गरेको छ ।

उनिहरुविरुद्ध आइतबार विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरिएको आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिएका छन् ।

झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीहरूलाई पनि प्रतिवादी बनाइएको छ ।

सर्लाहीको लालबन्दी नगरपालिकामा तत्कालीन झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानसँगको सहकार्यमा एन्टी भेनम प्रडक्सन एन्ड रिसर्च सेन्टर स्थापना, व्यवस्थापन र सन्चालन गर्ने कार्यमा अनियमितता गरेको आरोप उनिहरूमाथि छ ।

सर्पको विष संकलन, प्रशोधन र उत्पादन केन्द्र स्थापनाका लागि उक्त रिसर्च सेन्टर खोलिएको थियो ।

मन्त्रालयबाट नगरपालिका हुँदै झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई बदनीयत तरिकाले १७ करोड ९८ लाख ३३ हजार रुपैयाँ निकासा गरिएको भन्दै त्यसैलाई बिगो मानेर मुद्दामा मागदाबी लिइएको छ ।

प्रतिष्ठानका पदाधिकारीहरु अध्यक्ष रेवतीप्रसाद पन्तसहित महासचिव नवराज भण्डारी, कोषाध्यक्ष निरज भन्डारी र सदस्य देवेन्द्र रायलाई पनि प्रतिवादी बनाइएको छ।