काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले चीनको बीआरआई परियोजनाबारे छिटो काम थाल्ने बताएका छन् ।
उनले बीआरआई समयबद्ध कार्यतालिका बनाएर कार्यान्वयन प्रक्रिया अघि बढाउने बताएका छन् ।
नेपालको विकासको लागि बीआरआई अवसर भएको भन्दै प्रधानमन्त्री प्रचण्डले कार्यान्वयनको कार्यतालिका बनाएर छिटो काम गर्ने बताए ।
सो क्रममा प्रधानमन्त्री दाहालले चीनसँग कतिपय नीतिमा स्पष्ट हुनुपर्ने आवश्यकत्ता औंल्याएका छन् ।
आईतवार बिआरआईको एक दशकः व्यापार, लगानी र सम्पर्क सञ्जाल विषयक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले विगत १० वर्षमा बिआरआईमार्फत मात्र १ हजार अर्ब अमेरिकी डलर भन्दा बढी लगानी भएको तथ्यांक सार्वजनिक भइरहँदा नेपालले तुलानात्मक रुपमा लगानी भित्र्याउन नसकेको बताए ।
उनले नेपालको तर्फबाट लिनुपर्ने पहलकदमी तथा नीतिगत र प्रक्रियागत अवरोध हटाउने काम सरकारले गर्ने प्रतिवद्धता जनाए । उनले बिआरआई परियोजनाको सूचि नभइ कार्यान्वनय योग्य परियोजना छनोट र कार्यान्वयन हुनेगरी बिआरआई सम्बन्धी विकास निर्माणका परियोजना अघि बढाउन जरुरी रहेको बताए ।
प्रधानमन्त्री दाहालले नेपाललाई पूर्वाधार विकासमा ठूलो लगानीको खाँचो रहेको र विकास निर्माणलाई तिब्र बनाउन थप वाह्य पुँजीको आवश्यकता रहेको बताए ।