काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसीकी प्रमुख कार्यकारी अधिकृत एलिस अल्ब्राइटले आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्ने कार्यक्रम रहेको छ ।
एमसीसीकी प्रमुख एलिस अल्ब्राइट सहितको टोली आइतबार साँझ काठमाडौं आइपुगेका हुन् ।
भेटमा उनले एमसीसी कार्यान्वयनमा भएको ढिलाइका कारण अल्झिएका आयोजना र तिनका समस्याबारे छलफल गर्ने जनाइएको छ । त्यस बाहेक उनले अन्य राजनीतिक दलका केही शीर्ष नेताहरूसँग पनि भेट्ने योजना छ ।
एमसीसीमा हस्ताक्षर भएको ६ वर्ष र नेपालको संसदले अनुमोदन गरेको दुई वर्षपछि कार्यान्वयमा गएर सम्पन्न गर्ने पाँच वर्षे अवधि १३ भदौबाट सुरु भएको छ । तर ठेक्का प्रक्रिया र जग्गा अधिग्रहणलगायत विषयमा समस्याको समाधान नभएका कारण यसको कार्यान्वयन प्रक्रिया अन्योलमा परेको छ ।
हाल प्रसारण लाइन निर्माणका लागि आह्वान गरिएको ठेक्कामा बोलपत्रदाताले अनुमानित भन्दा बढी लागत लाग्ने बताएपछि कार्यान्वयनको पाटोमा समस्या देखिएको छ । एमसीसीको लगानीमा निर्माण हुने भनिएको ३१५ किलोमिटर प्रसारण लाइन आयोजनाको ठेकेदार छनोटमा नै समस्या देखिएको छ ।