काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टी रूपान्तरण गर्न तीन प्रस्ताव राखेका छन् । आइतबार ‘कांग्रेस रूपान्तरण अभियान बागमती प्रदेश’ले काठमाडौांम आयोजना गरेको कार्यक्रममा सांसदसमेत रहेका थापाले सदस्यता वितरण, उम्मेदवार छनौट र भ्रातृ तथा शुभेच्छुक संघसंस्थाबारे बहसका लागि प्रस्ताव ल्याएका हुन् ।
उनले अनलाइनबाटै कांग्रेसको सदस्यता वितरण गर्न सुरु भएको भन्दै साधारण सदस्यता लिएको एक वर्षपछि उसले क्रियाशील पाउने बताउँदै भने, ‘तर, अब कसैलाई क्रियाशील दिन्न भन्न मिल्दैन ।’ ०८२ मा कांग्रेसको १५औं महाधिवेशन हुने भएकाले त्यसको एक वर्षअघि ०८१ सालमै क्रियाशील सदस्यताको टुंगो लगाइसक्नुपर्ने उनको भनाइ छ ।
महामन्त्री थापाले भने, ‘क्रियाशील सदस्य ०७८ को १४औं महाधिवेशनमा ८ लाख थियो । अब बढेर १५ लाख हुन पनि सक्छ भने घटाएर ५ लाख पनि हुन सक्छ ।’ उनले पार्टीको विधान अनुसार संसदीय बोर्ड नै खारेज गरिनुपर्ने बताए । कांग्रेस विधानअनुसार चार तहमा संसदीय बोर्ड छ, जसले चुनावमा उम्मेदवार छनोट गने कांग्रेसको प्रावधान छ ।