काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बेवास्ता गरेका कारण नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्पक्षका लागि थुनामा रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणले फरक बाटो तय गर्ने भएका छन् ।
मुद्दाको किनारा नलागे पनि आगामी कात्तिक २४ गतेको सेरोफेरोमा हुने महासमिति बैठकसम्ममा खाँण थुनामुक्त हुने सम्भावना रहेको छ । त्यसबेला उनले इतर समूह डा. शेखर कोइरालाका पक्षमा उभिएर देउवाविरुद्धको प्रस्तावमा मतदान गर्ने बताइन्छ ।
कांग्रेसको विधानअनुसार आगामी महाधिवेशनमा देउवा क्याम्पबाट उदयीमान नेताका रुपमा खाँणलाई हेरिएको थियो । तर, देउवाले भने पत्नी आरजु राणालाई नेतृत्वमा ल्याउन फरक समीकरण बनाउने अभ्यास चलेपछि खाँणले पनि बाटो मोड्ने निर्णय लिन लागेका हुन् ।
त्यसो त उपसभापति पूर्णबहादुर खड्काले पनि आफूलाई सभापतिको दाबेदारका रुपमा प्रस्तुत गरेका थिए। देउवा समूहबाट त्यस्तो अवसर नपाएको खण्डमा खड्काले आफ्नै समूह तयार गर्दा खाँणको सहभागीतालाई पनि ध्यानमा राखेको कांग्रेस उच्च स्रोतले जनाएको छ ।
‘महासमिति बैठकसम्म पुग्दा कुन समूह कता मिल्छ भन्ने केही टुंगो लाग्न सकेको छैन, सबैले १५औं महाधिवेशनलाई केन्द्रमा राखेर नै समीकरण तयार बनाउने तयारी गरेका छन्’, कांग्रेस उच्च स्रोतले भन्यो,‘खड्काको नेतृत्वमा हिन्दूत्वलाई प्रश्रय दिनेको समूह बन्न सक्छ ।’
कोइरालाले चार पटकसम्म खाँणलाई भेटिसकेका छन्। देउवा गुटमा रहेका खाँण विस्तारै क्याम्प परिवर्तन गर्ने मुडमा पुगेका छन्। यसको कारण सभापति देउवाले आफूलाई महत्व नदिएको र नयाँ समीकरण बनाउनका लागि डा. शशांक कोइरालालाई सभापतिको उम्मेदवार बनाउने अर्को चर्चाले पनि खाँणले मुख घुमाउन सक्ने सोच बनाएका हुन् ।
त्यसो त १४औं महाधिवेशनमा सभापतिको च्याँखे थापेर १५औं महाधिवेशनमा नेतृत्वको निम्ति आशावादी रहेका प्रकाशमान सिंह र विमलेन्द्र निधि पनि मिल्न सक्ने सम्भावना केलाइएको छ। यद्यपि त्यो समूहका विषयमा भने अहिले खुलेर चर्चा भएको छैन ।
अर्कातिर महामन्त्री गगन थापा, विश्वप्रकाश शर्मा, नेता प्रदीप पौडेललगायतको युवा पंक्तिले नेतृत्व पुस्तान्तरणको बलियो मत लिएर महासमिति बैठकमा मतान्तरमा शक्ति आर्जन गर्न सकिने बताइन्छ। यद्यपि, महाधिवेशनसम्म पुग्दा के कस्तो स्थिति हुन्छ त्योचाहिँ हेर्न बाँकी नै छ ।