काठमाडौं । आफ्नो जीउधनको सुरक्षा माग्दै चिकित्सकहरू सडकमा निस्किएका छन् ।
डाक्टरहरू सुरक्षित वातावरणमा काम गर्न पाउनुपर्ने माग लिएर प्रदर्शनमा निस्किएका हुन् ।
हिजोमात्र पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा सहकर्मीमाथि आक्रमण भएपछि डाक्टरहरू आक्रोशित बनेका छन् । लम्जुङकी एक महिलाको उपचारको क्रममा मणिपाल शिक्षण अस्पतालमा मंगलबार मृत्यु भएको थियो । आक्रोशित भीडले अस्पतालको ढोकाको सिसासमेत फुटाएको थियो ।
डाक्टरहरूले कार्यस्थलमा सुरक्षाको प्रत्याभूति हुनुपर्ने, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी संशोधन ऐन कार्यान्वयन गर्नुपर्ने आवाज उठाएका छन् ।
यस्तै, पोखरास्थित मणिपाल शिक्षण अस्पतालका चिकित्सकमाथि हातपात भएको विरोधमा काठमाडौंको जोरपाटीस्थित नेपाल मेडिकल कलेजका आवासीय चिकित्सकहरुले सबै सेवा बन्द गरेका छन् । उनीहरुले सेवा रोकेर अस्पताल बाहिर प्रदर्शन गरेका छन् ।