शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

आजदेखि हुने एमाले बागमती प्रदेश अधिवेशनको अध्यक्ष ओलीले उद्घाटन गर्ने

सोमबार, असोज ८ २०८०

काठमाडौं । नेकपा एमाले बागमती प्रदेशको प्रथम अधिवेशन आजबाट सुरू हुँदैछ ।

काठमाडौंको भृकुटी मण्डपमा हुने अधिवेशनको उद्घाटन एमाले अध्यक्ष केपी शर्मा ओलीले बिहान ११ बजे गर्ने कार्यक्रम तय छ ।

अधिवेशनको सम्पूर्ण तयारी पूरा भैसकेको एमाले बागमती प्रदेश अध्यक्ष केशव पाण्डेले बताए । उद्घाटनअघि एमालेले काठमाडौंका ६ ठाउँबाट र्‍याली निकाल्नेछ ।

अधिवेशनमा सहभागिताका लागि १३ जिल्लाबाट ११३८ प्रतिनिधि छनोट भएर आइसकेका छन् । यदि ५ प्रतिशत प्रतिनिधि थप भएको अवस्थामा थप २५ जना प्रतिनिधि आजै छनोट हुने जनाइएको छ ।

अधिवेशनका लागि सबैभन्दा बढी प्रतिनिधि काठमाडौंका १३२ जना छनोट भएका छन् त्यसैगरी काभ्रेबाट १२५ र मकवानपुरबाट १०६ जना तथा धादिङबाट ८७, चितवनबाट ८५ , रामेछाप ८१, भक्तपुर ६६, सिन्धुली ६६, दोलखा ६५, सिन्धुपाल्चोक ६४, नुवाकोट ६४, ललितपुर ५० र रसुवाबाट २७ जना छन् । जनसंगठनबाट ९५ जना प्रतिनिधि छानिएका छन् ।

अधिवेशनको बन्दसत्र भोलिबाट सुरू हुनेछ । सहमतिबाट नेतृत्व चयन हुन नसकेको अवस्थामा विद्युतीय मतदान गराउने तयारी आयोजकको छ ।