काठमाडौं । सरकारले वार्तामा बोलाएको भएपनि शिक्षक महासंघले विद्यालय शिक्षा विधेयकविरुद्धको आन्दोलनलाई आज पनि जारी राख्ने भएको छ ।
बिहीबार सरकार र महासंघबीचको वार्ता निष्कर्षविहीन भएपछि महासंघले आज तेस्रो दिन आन्दोलनलाई निरन्तरता दिने भएका हुन् । यसैबीच आज पनि सरकार र आन्दोलनरत शिक्षकबीच वार्ता हुँदैछ ।
महासंघको नेतृत्वमा शिक्षकहरू सडक आन्दोलनमा होमिएपछि देशभरको सामुदायिक विद्यालयको पठनपाठन ठप्प भएको छ ।
शिक्षकहरूले काठमाडौं केन्द्रित आन्दोलन गरेर आफ्नो माग पूरा गर्न दबाब दिइरहेका हुन् । आन्दोलनका कारण काठमाडौं उपत्यकाको सवारी आवागमन अस्तव्यस्त भएको छ ।
सरकारले ल्याएको शिक्षा विधेयकले सरकारी शिक्षक, राहात शिक्षकलगायतलाई अन्याय गरेको भन्दै तत्काल विधेयक सच्चाउनु पर्ने माग गर्दै शिक्षकहरु आन्दोलनमा उत्रिएका हुन् ।