शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

सरकारले थप समय मागेपछि शिक्षकसँगको वार्ताको समय सर्‍याे

शुक्रबार, असोज ५ २०८०

काठमाडौं । आन्तरिक छलफलका लागि भन्दै सरकारले थप समय मागेपछि आन्दोलनरत शिक्षक र सरकारबीचको वार्ताको समय सरेको छ ।

बिहान ९ बजे आन्दोलनरत शिक्षकहरुसँग सरकारले छलफल गर्ने भनेपनि आन्तरिक छलफलमा दुवै टोली जुट्ने भन्दै वार्ता समय सारिएको हो । बिहान ९ बजे नै आन्दोलनरत शिक्षकका प्रतिनिधिहरु छलफलका लागि सिंहदरबार पुगेका थिए ।

तर आज बिहान कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले मन्त्रालयमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राई, सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मासँग छलफल गर्नुभएको थियो ।

छलफलपछि कानूनमन्त्री गुरुङले आज नै वार्ता निष्कर्षम पुग्ने बताएका थिए । तर दुवै तर्फबाट आन्तरिक छलफल गर्ने भनेसँगै वार्ता समय सरेको नेपाल शिक्षक महासंघका महासचिव लक्ष्मीकिशोर सुवेदीले बताए ।

आफ्नो माग पुरा नभएसम्म आन्दोलन जारी रहने आन्दोलनरत पक्षको भनाइ छ ।

यसैबीच एमालेका तर्फबाट संसदमा प्रतिनिधित्व गर्ने र संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति रहेका सांसदहरुले शिक्षामन्त्री अशोक राइसँग भेट गरी शिक्षा विधेयक फिर्ता लिन सुझाव दिएका छन् ।

भेटपछि एमालेका सचेतक महेश बर्तौलाले यस्तो जानकारी गराएका हुन् । सरकारले पछिल्लो समय ल्याएको शिक्षा विधेयकले सरकारको नियतमाथि नै आशंका पैदा गरिदिएको उनले बताए ।